आज छठको मुख्य दिन, सूर्यको पूजा आराधना गरिँदै


 


काठमाडौँ, कार्तिक २२ । आज छठ पर्वको मुख्य दिन सूर्यको पूजा आराधना गरी मनाइँदैछ । व्रतालुहरू आज पानीसमेत नखाइकन निराहार बस्दछन् ।

साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई अस्ताउँदो सूर्यको पूजा गर्दछन् । छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाउँदछन् ।

प्रातःकालीन अर्घका लागि केही व्रतालुहरू आज रातभर पानीमा बसेर सूर्य नउदाउन्जेल सम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् । आज जलाशय क्षेत्रमा रातभर भजन कीर्तन र नाचगान हुने गर्दछ ।

छठ पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ । छठ माताको पूजाआजा गरेपछि भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यो व्रत गर्नाले चर्मरोग छिटो निको हुने पनि विश्वास गरिन्छ ।

केही भक्तजन घरबाट साँझ र बिहान घर्सिंदै नदी वा पोखरीको किनारमा गई स्नान गरी व्रत पूरा गर्छन् । कतिले मनोकामना पूरा भएमा नाच नचाउने, पोखरीमा माटोको हात्ती राख्ने तथा दियो बाल्ने जस्ता कार्य पनि गर्छन् ।

छठ पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुका दूध, चामल र सख्खरको खीर बनाइ प्रसादको रुपमा ग्रहण गर्ने चलन छ ।

कात्तिक शुक्ल चतुर्दशीका दिनदेखि सुरु हुने छठ पर्व सूर्यको आराधना गरी मनाइन्छ । छठको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति: २२ कार्तिक २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्