जापान भ्रमण विवादित भएपछि कोशीका आन्तरिक मामिला मन्त्री अधिकारीले दिए राजीनामा


 



विराटनगर २१ कात्तिक। कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिनुभएको छ ।

मुख्यमन्त्री र प्रदेश सरकारलाई जानकारीसमेत नदिई जापान जानुभएका मन्त्री अधिकारीलाई मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिन निर्देशन दिनुभएपछि उहाँले आजै मुख्यमन्त्री समक्ष राजीनामा दिनुभएको हो ।

मुख्यमन्त्रीले पदीय मर्यादा विपरीत र गैरकानुनी रुपमा विदेश भ्रमणमा गएको भन्दै मन्त्री अधिकारीलाई पद छाड्न निर्देशन दिनुभएको थियो । वैदेशिक भ्रमणमा प्रदेश सरकार मात्र नभई संघीय सरकारले पनि अनुमति दिनुपर्ने व्यवस्था छ । तर, त्यसलाई बेवास्ता गर्दै मन्त्री अधिकारी कात्तिक १३ गते जापान प्रस्थान गर्नुभएको थियो ।

टोकियो महानगरपालिकाको कार्यक्रममा सरिक हुन आफु जापान गएको स्विकार्दै मन्त्री अधिकारीले आफु सरकारीस्तरबाट नभई व्यक्तिगत रुपमा गएको बताउनुभएको छ । विदेश प्रस्थानका लागि सबै प्रक्रिया पुरा गर्नका लागि समय नपुगेको जिकिर गर्दै उहाँले ‘क्याबिनेट निर्णय गराएर जाने समय नभएको कारण आयोजकहरूको व्यवस्थापनमा आफु जापान गएको बताउनुभएको छ ।

टोकियो महानगरपालिकाको कार्यक्रममा गएको भनिएपनि कार्यक्रम नभएको र उहाँ १७ गते स्वदेश फर्कनुभएको थियो ।

२०७९ भदौ २३ गते संघीय सरकार मन्त्रिपरिषद्को कार्यालयले सबै प्रदेशका मुख्यमन्त्रीको कार्यालयलाई पत्राचार गर्दै मन्त्री तथा कर्मचारीको विदेश भ्रमणलाई कडाइ गरेको थियो । त्यसबेला गरिएको पत्राचारमा ‘वैदेशिक भ्रमणका लागि प्रदेशका पदाधिकारी र कर्मचारी मनोनयन गर्नुपूर्व ‘प्रदेश तथा स्थानीय तहले विदेशी सरकार, नियोग, प्रतिनिधि र अन्तर्राष्ट्रिय संघ/संस्थासँग सम्पर्क गर्दा अवलम्बन गर्नुपर्ने कार्यविधि सम्बन्धी निर्देशिका, २०७६’ को दफा ५ को उपदफा (१) र (२) बमोजिम परराष्ट्र मन्त्रालयको सहमति लिने र सहमति प्राप्त भएपछि मात्र निर्देशिकाको दफा ६ को उपदफा ९३० बमोजिम मनोनयन गर्ने,’ उल्लेख छ ।

प्रकाशित मिति: २१ कार्तिक २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्