त्रिभुवन विमानस्थलबाट पाँच किलो सुनसहित तीन जना पक्राउ
काठमाडौँ, कात्तिक २१ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सुनसहित तीन जना पक्राउ परेका छन् ।
विमानस्थलबाट हिजो (मंगलबार) साँझ करिब पाँच किलो सात सय ग्राम सुनसहित तीन जनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक (पुनः जाँच) गर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पीकरमा करिब ५ के.जी. ७ सय ग्राम सुन फेला परेपछि सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले निमन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखिएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २१ कार्तिक २०८१, बुधबार