पाँच करोड ठगेर फरार बिनुलाई नेपाल झिकाइयो


 


काठमाडौँ, कार्तिक २० । वैदेशिक रोजगारी ठगी मुद्दामा फरार बिनु शाक्यलाई कम्बोडियाबाट नेपाल ल्याइएको छ ।

इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भई शाक्यलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको हो ।

सिन्धुपाल्चोक मान्खाकी बिनु वैदेशिक रोजगारीमा सिङ्गापुर पठाइदिन्छु भनी ४० जनाभन्दा बढी व्यक्तिबाट पाँच करोड दुई लाख ९४ हजार रुपैयाँ ठगी गरी फरार भएकी थिइन् ।

आरोपी बिनु शाक्य र उदयपुर त्रियुगा नगरपालिका– १० ठेगाना भएका सुजन आचार्यको अन्तर्राष्ट्रियस्तरमा खोजी गर्नका लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखामा अनुरोध भएपश्चात २०८० माघ १९ गते उनीहरूविरूद्ध रेड नोटिस जारी भएको थियो । यस क्रममा गत असोज १ गते दुवै जनाकम्बोडियामा पक्राउ परेका थिए ।

सुजनलाई कात्तिक ९ गते नै नेपाल फिर्ता ल्याइएको थियो । बिनुलाई थप कारबाहीका लागि सोमबार प्रहरी वृत्त कालिमाटीमा बुझाइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

प्रकाशित मिति: २० कार्तिक २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्