पोखरीमा डुबेको कारबाट दुई जनाको शव निकालियो


 


काठमाडौं, कार्तिक २० । सर्लाहीको ईश्वरपुरमा पोखरीमा खसेर डुबेको कारबाट दुई जनाको शव निकालिएको छ ।

आज बिहान बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार सर्लाहीकै ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा डुबेको थियो ।

सशस्त्र प्रहरीको उद्धार टोलीले साढे ८ बजे महोत्तरीको गौशाला नगरपालिका–१० का सुरेश महतो (चालक) र सोनमा गाउँपालिका–८ का रामाकान्त ठाकुरको शव पोखरीबाट निकालेको हो । पोखरीमै रहेको कार पनि निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार कारमा सवार गौशाला–२ का अन्दाजी ३१ वर्षीय जनक यादव भने पौडिएर बाहिर निस्किएका थिए ।

कार अनियन्त्रित भएर सडक छेउमा रहेको सरस्वती उच्च माध्यामिक विद्यालयको पोखरीमा गएर डुबेको थियो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २० कार्तिक २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्