सहकारी ठगीको अनुसन्धानका लागि रवि लामिछानेलाई रुपन्देही लगिँदै
काठमाडौं । सहकारी ठगीसम्बन्धी अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही लैजाने तयारी भएको छ ।
पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति लामिछानेलाई थप अनुसन्धानका लागि रुपन्देही लैजाने तयारी भएको हो।
उनी हाल सहकारी ठगीकै अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा छन् । लामिछानेलाई उपस्थित गराउन रुपन्देही प्रहरीले कास्कीमा पत्र पठाइसकेको स्रोतले बतायो ।
बुटवल स्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न लामिछानेलाई उपस्थित गराउन पत्राचार गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।
प्रहरीले रुपन्देही जिल्ला अदालतबाट कात्तिक ८ गते नै बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न हिरासतमा रहेका लामिछाने, जीवी राईसहित १२ जनालाई पक्राउ अनुमति दिइसकेको छ ।
बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।
लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्व डीआईजी छविलाल जोशी बञ्जाडे पनि कास्की प्रहरी हिरासतमै छन् । बञ्जाडेको भने यसअघि नै बुटवल ल्याएर बयान सकेर कास्की नै लगिएको थियो।
कात्तिक २ गतेदेखि कास्की प्रहरी हिरासतमा रहेका उनलाई दुई पटक म्याद थप गरिसकेको छ ।
तर कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट पाएको म्याद १४ गते नै सकिए पनि तिहार बिदाका कारण उनी प्रहरी हिरासतमै छन् ।
प्रकाशित मिति: १९ कार्तिक २०८१, सोमबार