शौच गर्न जाँदा बेपत्ता भएकी छात्रा नारायणी नदीमा मृत फेला


 


चितवन, कार्तिक १९ । चितवनको मुग्लिनबाट गत सोमबार बेपत्ता भएकी एक युवती मृत फेला परेकी छन् ।

तनहुँको बन्दीपुरमा वनभोज खाएर फर्किने क्रममा शौच गर्न जाँदा बेपत्ता भएकी
नवलपुरको मध्यविन्दु नगरपालिका वडा नं २ कोल्हुवास्थित कुमारवर्ती माध्यमिक विद्यालयकी कक्षा १२ मा अध्ययनरत १९ वर्षीया विपना चौधरी मृत फेला परेकी हुन् ।

क्याम्पसबाट कक्षा ११ र १२ का विद्यार्थी पिकनिक खान कात्तिक १२ गते तनहुँको बन्दीपुर आएर फर्कँदै थिए । त्यसक्रममा बेपत्ता भएकी चौधरी तीन दिनपछि नारायणी नदी किनारमा मृत अवस्थामा भेटिएकी हुन् ।

बिहीबार साँझ ६ बजेतिर नारायणी नदीको किनार मध्यविन्दु नगरपालिका वडा नं १५ को कोलकट्टा क्षेत्रको किनारमा माछा मार्ने बोटेले शव देखेर प्रहरीलाई खबर गरेका थिए ।

शव सोही दिन राति नै मध्यविन्दु जिल्ला अस्पताल डन्डामा पुर्याई पोष्टमार्टम गरिएको प्रहरीले जनाएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १९ कार्तिक २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्