तिहारको आज चौथो दिन गाई पूजा गरिँदै


 


काठमाडौं, कात्तिक १७ । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।

गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।

नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्राध्यापक डा. रामचन्द्र गौतमले जानकारी दिए ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्ने प्रत्येक कर्ममा गाईदान गर्ने विधि छ । पछिल्लो समय गाईको अभावमा पैसा राखेर सङ्कल्प पढिन्छ । गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रुपमा राखिएको छ ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।

प्रकाशित मिति: १७ कार्तिक २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्