संघीय अस्पतालहरूमा ‘डिजिटल डिस्प्ले’ राख्ने तयारी
नेपालगञ्ज १४ काीत्तक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफू मातहतका संघीय अस्पतालहरूमा डिजिटल डिस्प्ले राख्ने तयारी गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले आज भेरी अस्पतालमा आयोजित पत्रकार भेटघाटमा अस्पतालमा बेडहरूको अवस्था, उपलब्धता, अक्पुपेन्सीबारे सर्वसाधारणलाई सहज रुपले जानकारी दिन अस्पतालको बाहिरै डिजिटल ड्यासबोर्ड र डिस्प्ले राख्ने तयारीमा लागेको जानकारी दिनुभयो ।
प्रवक्ता डा.बुढाथोकीले देशभरका अस्पतालहरूमा जनशक्तिको अभाव भएको जानकारी गराउँदै चार जना डाक्टरले हेर्नुपर्ने बिरामी एक जनाले मात्रै हेरिरहेको अवस्था रहेको बताउनुभयो ।
उहाँले अस्पतालहरूमा ‘सिस्टम’ बसाउन लागिरहेको बताउँदै सहज, गुणस्तरीय र सर्वसुलभ सेवाका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो ।
भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. निराजन सुवेदीले अस्पतालको आन्तरिक पूँजी निर्माणमा आफ्नो ध्यान केन्द्रित रहेको बताउनुभयो ।
कार्यभार सम्हालेको एक महिनापछि पत्रकारहरुसंग भेटघाट गर्नुभएका डा. सुवेदीले एमडीरएमएस अध्ययनका लागि राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानसँग सम्झौता भइसकेकाले छिट्टै कार्यान्वयन चरणमा जाने बताउनुभयो । उहाँले अस्पतालमा बिमाले तोकेका औषधि नपाउने गरेको अवस्थामा त्यसलाई सहज बनाउन तिहार लगत्तै नयाँ टेण्डर आह्वान गर्ने जानकारी दिनुभयो ।
सिटी स्क्यानका लागि अन्यत्रै रिफर गर्नुपर्ने अवस्था रहेको भन्दै उहाँले दीर्घकालीन रुपमा अस्पतालको क्षमता बढाउन आफ्नो कोशिस रहने बताउनुभयो ।
राम्रो सेवा दिएपछि सेवाग्राही आफैं आउँछन् भन्ने मान्यताका आधारमा काम गरिरहेको उहाँको भनाई छ । अस्पतालमा चुहावट भइरहेको स्विकार्दै मेडिकल सुपरिटेण्डेण्ट डा। सुवेदीले त्यसमा पनि काम गर्ने बताउनुभयो ।
करिब २२ करोड भुक्तानी गर्नुपर्ने दायित्व रहेको बताउँदै त्यसका लागि आन्तरिक स्रोत वृद्धि गर्नुको विकल्प नरहेको बताउनुभयो ।
अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्र बहादुर शाहले सेवा सुधारका लागि आफू आएदेखि नै प्रयत्न गरिरहेको बताउनुभयो ।
कार्यक्रममा अस्पताल विकास समितिका सदस्य डक्टप्रसाद धितालको पनि उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: १४ कार्तिक २०८१, बुधबार