काँग्रेस उपसभापति गुरुङमाथि छानविन हुन्छ, दोषी ठहर भए कारबाही हुन्छ : गृहमन्त्री लेखक
पोखरा १४ कात्तिक । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङमाथि समेत छानविन तथा अनुसन्धान हुने बताउनु भएको छ ।
नेपाल प्रेस युनियन कास्कीले बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले काँग्रेस उपसभापति गुरुङ माथि समेत सहकारीको रकम हिनामिना गरेको आरोप आएकोले त्यसको छानविन र अनुसन्धान हुने बताउनु भएको हो ।
उहाँले भन्नुभयो “यदि तथ्यले प्रमाणले गुरुङले गैर कानुनी रुपमा काम भन्ने पुष्टि भए कारबाही हुन्छ, तर हामीले कसैको मुख हेरेर अनुसन्धान गर्ने गरेका छैनौँ तथ्य र प्रमाण हेरेर कारबाही गर्ने गरेका छौँ, तथ्य र प्रमाणले जता जता अनुसन्धान गर्न निर्देशन गर्छ हामी त्यहाँसम्म पुग्छौँ । ” सहकारी ठगी प्रकरणमा जता जता तथ्य र प्रमाण भेटिन्छ त्यतै तर्फ छानविन र अनुसन्धान हुने उहाँको भनाई थियो । गल्ती गर्ने सबै कारबाहीको दायरामा सरकारले ल्याई छाड्ने गृहमन्त्री लेखकले उल्लेख गर्नु भयो ।
जीवी राई कहिले पक्राउ पर्नुहोला भन्ने पत्रकारको प्रश्नमा सरकारले सहकारीको आरोपितहरूलाई खोज र अनुसन्धान गरि रहेको बताउँदै विदेशमा रहेकाहरूलाई विधि र प्रक्रिया मिलाएर खोज अनुसन्धान र नेपाल भित्राउने रणनीतिमा सरकार लागेको जनाउनु भयो । विदेशमा रहेकाहरूको विषयमा इन्टरपोलबाट नेट कर्नर नोटिस जारी भएको अवस्थामा को कति वेला कहाँबाट पक्राउ गर्ने भन्ने विषय हाल भन्ने सकिने अवस्था नभएको उहाँको भनाई थियो ।
निश्चित व्यक्तिहरूको मात्र सरकारले प्रतिसोचका आधारमा सहकारीको रकम अपचलन गरेको आरोपमा कारबाही गर्ने अन्यलाई किन नगरेको भन्ने पत्रकारको प्रश्नमा उहाँले सहकारीको ठुलो रकम हिनामिना भएकोले छानविन समितिले दिएको रिपोर्टका आधारमा सबैलाई कानुनी दायरामा ल्याउने दाबी गर्नु भयो । ५ पार्टीका ७ जना सांसदहरु रहेको संसदीय छानविन समितिले दिएको रिपोर्टको आधारमा आफूहरूले सहकारीको रकम हिनामिना तथा अपचलन गरेको विषयमा आरोपित सबै समक्ष छानविन गर्दै जाने गृहमन्त्री लेखकले बताउनु भयो ।
सहकारी ठगी आरोपमा विदेशबाट समेत आफूहरूले केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएको दाबी गर्दै उहाँले छानविन समितिले दिएको प्रतिवेदनका आधारमा आरोपित मध्य जो कसैलाई पनि छानविन गर्ने र दोषी ठहर भए कानून अनुसार कारबाही गर्न सरकार तयार रहेको दाबी गर्नु भयो । न्यूनतम भए पनि सहकारी पीडितहरूको रकम फिर्ता हुने प्रक्रिया सुरु भएको गृहमन्त्री लेखकले जनाउनु भयो । समग्र सहकारीको सुधारको विषयमा सरकार लाग्ने उहाँले जनाउनु भयो ।
गण्डकी प्रदेशको लाइफ लाइनको रुपमा रहेको नेपाल र चीनको उत्तरी नाका खुल्ला हुनुले यस प्रदेश सहित समग्र नेपालको अर्थतन्त्र र पर्यटनको क्षेत्रमा धेरै मद्दत पुग्ने गृहमन्त्रीले विश्वास व्यक्त गर्नू भयो । अब देखि नेपालीहरू चिन जानको लागि १ सय ५० दिनको म्यादमा भिसा प्राप्त गर्न सक्ने भएको उहाँको भनाई छ ।
मुस्ताङको उपल्लो भेग स्थित नेपाल र चीनबीचको सीमास्तम्भ (२४ नम्बर सीमास्तम्भ) रहेको कोरला नाकामा अध्यागमन कार्यालयको उद्घाटन गर्न मुस्ताङ पुग्नु भएको गृहमन्त्री लेखक हेलिकोप्टर मार्फत पोखरामा करिब ४ घण्टा ढिलो आएसँगै समयले गर्दा निकै ढिला भएकोमा क्षमा माग्दै कार्यक्रम स्थलमा प्रवेश गर्नु भएको थियो ।
कोरोला नाकामा यस अघि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका मुस्ताङवासीले मात्र व्यापारका लागि आवतजावत पाउनु हुन्थ्यो तर कार्यालय सञ्चालनले अब भने यस नाकाबाट आवतजावत गर्न चाहने जोकोही नेपालीलाई सहज हुने भएको छ ।
कोरोला नाकामा नेपालले प्रिफ्याव प्रविधिको १० कोठे अध्यागमन तथा सुरक्षा पोष्ट स्थापना गरेको हो । अध्यागमन कार्यालय सञ्चालनको लागि सरकारले कोरला नाकासम्म विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको विस्तार गर्नुका साथै नेपाल टेलिकमको इन्टरनेट सहित मोबाइलको सेवा पुर्याइसकेको छ ।
कोरोला नाकामा चीनले आफ्नोतर्फ भन्सार कार्यालयका साथै अन्य आवश्यक पूर्वाधार निर्माण गरिसकेको छ । गृहमन्त्री रमेश लेखकले आज कार्यालयको शुभारम्भ गर्दै अध्यागमन कार्यालय सञ्चालनसँगै चीनसँगको द्विपक्षीय सम्बन्ध अझै प्रगाढ बन्ने विश्वास व्यक्त गर्नु भयो ।
पत्रकार भेटघाट कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, प्रदेशका सामाजिक बिकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थपा, प्रदेश सांसद सरस्वती गुरुङ लगायतको उपस्थिति रहेको युनियन कास्कीका अध्यक्ष बासु मिश्रले बताउनु भयो ।
प्रकाशित मिति: १४ कार्तिक २०८१, बुधबार