नेपाल र बंगलादेशबीचको खेल हेर्न जाँदा झन्डा र पोस्टर लैजान नपाइने
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले रंगशालामा जाँदा लैजान नपाइने सामानहरूको सूची सार्वजनिक गरेको छ ।
एन्फाले नेपाल र बंगलादेशबीचको साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल खेल हेर्न जाँदा लैजान नपाइने सामानहरूको सूची सार्वजनिक गरेको हो।
नेपाल र बंगलादेशबीचको फाइनल खेल आज साँझ साढे ६ बजेदेखि हुँदैछ। यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ।
एन्फाले जारी गरेको सूचनाअनुसार बन्दुक, छुरा तथा अन्य कुनै पनि धारिलो हतियार वा औजार लैजान पाइने छैन।
यस्तै चुरोट, लाइटर, सलाई, मादक वा नशालु पदार्थ लैजान नपाइने एन्फाले जनाएको छ। ठूलो झोला पनि लैजान पाइनेछैन।
सानो झोला भने सुरक्षा जाँच गरेपछि मात्रै पाइने एन्फाले जनाएको छ।
मोटरसाइकलको हेल्मेट, बिना अनुमतिका ब्यानर, झन्डा, पोस्टर, पानी वा अन्य कुनै चिसो पेय पदार्थका बोतल वा क्यान, लेजर लाइट, छाता, लिपिस्टिक, नेलकटर, कैंची, काइँयो लगायत लैजान नपाइने जनाएको छ।
प्रकाशित मिति: १४ कार्तिक २०८१, बुधबार