हराएका २५ ओटा दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण
काठमाडौँ । विभिन्न मितिमा हराएका २५ ओटा दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले बुधबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक भरत बहादुर बोहराले १७ ओटा मोटरसाइकल र ८ ओटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा सातदोबाटो, पुल्चोक, मंगलबजार, टिकाथली, जगाती, ठिमी, ढल्को, बौद्ध, माकलबारी, एयरपोर्ट, तिनपिप्ले, महाराजगन्ज, बलम्बु, गोकर्णेश्वर, मुलपानी, बालाजु र महादेबटार लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।
आज बुझाइएका २५ ओटा सहित १७६ ओटा सवारी साधन साउन महिनायता ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ भने चोरीका १४ ओटा दुई पाङ्ग्रे सवारी साधनसहित चोरीमा संलग्न १८ जना व्यक्तिहरूलाई पनि आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।
सवारी साधन जिम्मा लिए पश्चात् सवारी धनीहरूले खुसी व्यक्त गर्दै सामूहिक रुपमा ट्राफिक प्रहरीलाई धन्यवाद समेत दिएका थिए । आर्थिक वर्ष २०७९–०८० मा ४९९ ओटा र ०८०–०८१ मा ४१७ ओटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको थियो ।
सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्न साथै मानिसहरूको आवत-जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उमा प्रसाद चतुर्बेदीले अनुरोध समेत गरेका छन् । सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न वा नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।
प्रकाशित मिति: १४ कार्तिक २०८१, बुधबार