रविलाई छुटाउन सरकारसँग गुहार, रातारात प्रधानमन्त्रीसँग भेटघाट
काठमाडौं, कार्तिक १४ । सहकारी ठगी, संगठित अपराधलगायतका मुद्दामा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई छुटाउन सो दलका नेताहरु सरकारसँग गुहार माग्न थालेका छन् ।
रवि पक्राउविरुद्ध सडकमा दैनिक आन्दोलन गरिरहेको रास्वपाले भित्रभित्रै उनलाई छुटाउन सरकारसँग गुहार मागिरहेको हो । रास्वपाका उपाध्यक्षसहितको टोलीले प्रधानमन्त्रीसँग भेटेर रविलाई हिरासतमुक्त गराउन रातारात भेट गरेका छन् ।
रास्वापाका उपसभापति डोलप्रसाद (डिपी) अर्याल र रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले सोमबार राति साढे १० बजेको समयमा प्रधानमन्त्री ओलीलाई सरकारी निवास बालुवाटारमा भेटेर सरकारलाई निःसर्त समर्थन गर्ने भन्दै रविलाई जसरी पनि हिरासतमुक्त गराउन आग्रह गरेका हुन् ।
उनीहरूले प्रधानमन्त्री ओलीलाई भेट्नुअघि गृहमन्त्री रमेश लेखकलाई समेत भेटेर हिरासतबाहिर राखिदिन आग्रह गरेको बताइएको छ ।
बालुवाटार स्रोतका अनुसार रास्वपा नेताहरुको आग्रहपछि प्रधानमन्त्री ओलीले मुद्दा अदालती प्रक्रियामा प्रवेश गरेका कारण आफूले केही गर्न नसक्ने जबाफसमेत दिएका थिए । बरु ओलीले अदालतलाई प्रभाव पार्ने काम नगर्न रास्वपा नेताहरुलाई अनुरोध गरेका थिए ।
प्रकाशित मिति: १४ कार्तिक २०८१, बुधबार