विश्वकप लिग–२ : स्कटल्यान्डविरुद्ध नेपाल पाँच विकेटले विजयी


 


काठमाडौँ, कार्तिक १४ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृंखलाअन्तर्गत एकदिवसीय खेलमा नेपालले आज स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेको छ ।

अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्यान्ड ४१ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १५४ रनमा समेटियो ।

स्कटल्यान्डलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले तीन विकेट लिए । साथै करन केसी, सोमपाल कामी, गुल्सन झाले २–२ विकेट तथा आरिफ शेखले एक विकेट लिए ।

स्कटल्यान्डका लगि मार्क वाटले ३४ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय रन बनाउन सकेनन् । स्कटल्यान्डले प्रस्तुत गरेको उक्त लक्ष्य नेपालले २९ दशमलव पाँच ओभरमा पूरा ग¥यो । नेपालको जितमा आरिफ शेखले ५१ रनको योगदान दिए ।

कुशल भुर्तेल र गुल्शन झाले २५–२५ रन बनाए भने आसिफ शेखले २१ रन बनाए । स्कटल्यान्डका लागि ब्राण्डम म्याकुलमले २ विकेट लिए भने ब्राड कुरी, मार्क वाट र ज्याक जार्विसले समान १–१ विकेट लिए ।

लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो । स्कटल्यान्डले भने आफ्नो पहिलो खेलमा अमेरिकालाई १० विकेटले पराजित गरेको थियो ।

प्रकाशित मिति: १४ कार्तिक २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्