५० लाखको साढे २९ तोला बढी सुनसहित दुई जना पक्राउ


 


काठमाडौँ, १३ कात्तिक । राजस्व छली गरी ल्याएको करिब ५० लाख बराबरको साढे २९ तोला बढी सुनसहित दुई जना बुटवलमा पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार सोमबार राति १० बजेको समयमा पश्चिमबाट पूर्व जाँदै गरेको लु.२ ख.६५४२ नम्बरको बसमा खानतलासी गर्दा उक्त सुन बरामद भएको हो।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले राजस्व छली गरी अवैध रूपमा सुन ल्याएको भन्ने सूचनाको आधारमा खानतलासी गर्दा बसका कण्डक्टर कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं.८ बस्ने वर्ष ३३ को अकबर अलि मिया सुनसहित पक्राउ परेको जानकारी दिए।

बुटवल उपमहानगरपालिका वडा नं.८ रामनगरस्थित पूर्व पश्चिम राजमार्गमा बस रोकेर खानतलासी गर्दा मियाले दायाँ खुट्टाको जुत्ताभित्र खैरो रातो बुट्टे लेडिज ब्यागमा लुकाएको अवस्थामा बिस्कुट आकारको दुई थान सुन बरामद भएको पण्डितले जानकारी दिए।

२९ तोला ५८.१ लाल तौलको उक्त सुनको बजार मूल्य ४९ लाख ५४ हजार ८१७ रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १३ कार्तिक २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्