सदभाव विथोल्न खोज्नेलाई सरकारले छाड्दैन- निधि


 


धनुषा, माघ २४

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले राष्ट्रिय अखण्डताविरुद्ध गतिविधि गर्नेलाई नछाडने बताएका छन् । तराईलाई टुक्राएर छुट्टै मुलुक बनाउने भनेर गतिविधि गर्दा सरकार टुलुटुलु रहेर नबस्ने उनले बताए । सशस्त्र प्रहरी सीमा सुरक्षा बल धनुषाको नवनिर्मित भवन उदघाटन समारोहमा मन्त्री निधिले यो मुलुक सबै नेपालीको साझा फुलवारी भएको भन्दै सदभावलाई विथोल्न खोज्नेलाई सरकारले नछाड्ने बताए ।

गृहमन्त्री निधिले लोकतन्त्रमा सबैको आ-आफ्नो कुरा राख्ने अधिकार रहेको भएपनि मुलुकलाई नै टुक्राउछु भन्ने गलत भएको बताए । उनले संविधानमा भएको कमीकमजोरी सच्याउन सरकार तयार रहेको बताए । संविधानमा सबैको अपनत्व गराउन संशोधन विधेयक अघि बढाइएको उनले बताए । जनकपुरको मुजेलियामा रहेको सशस्त्र प्रहरीको कार्यालयमा करिब २ करोड रुपैयाँ खर्च गरेर भवनको निर्माण गरिएको हो । भवन निर्माणसहित वेस क्याम्प स्थापनाका लागि सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको छ ।

प्रकाशित मिति: २४ माघ २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्