यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका सशस्त्रका जवान हिरासतमा मृत फेला


 


दाङ, कात्तिक १२ । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका एक जना सशस्त्र प्रहरीका जवान प्रहरी हिरासतमा मृत फेला परेका छन् ।

दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङस्थित २९ नम्बर ज्वालामाई गणमा कार्यरत सशस्त्र प्रहरी जवान रेवन पचभैया मगर घोराहीस्थित वडा प्रहरी कार्यालयमा सोमरबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।

प्युठानको वडडाँडा घर भएका मगर आफ्नै गञ्जी र टिर्सटको पासोसहित झुन्डिएको अवस्थामा विहान ५ बजे शौचालयमा मृत फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले बताए ।

स्थानीय एक जना आठ वर्षीया र अर्की १४ वर्षीया नाबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा उनी कात्तिक ७ गते पक्राउ परेका थिए । उक्त घटनामा सशस्त्र पहरी बलले सशस्त्र प्रहरीका जवान मगर र सहायक हवल्दार भरत रोका मगरलाई पक्राउ गरी घटना अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दाङलाई बुझाएको थियो ।

असोज २४ गते बेलुकी ज्वालामाई गण नजिकै पिङ खेल्न गएका दुई बालिकामाथि अपरिचित व्यक्तिहरूले बलात्कार गरेको भन्दै पीडित बालिकाका आफन्तले प्रहरीमा उजुुरी दिएका थिए ।

प्रकाशित मिति: १२ कार्तिक २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्