अपराध अनुसन्धान प्रमाणमुखी बनाउन आवश्यक छ : प्रधानन्यायाधीश राउत


 


काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अपराध अनुसन्धान प्रमाणमुखी बनाउन आवश्यक रहेको बताएका छन्।

नेपाल प्रहरी प्रधान कार्यालयले आयोजना गरेको ‘फौजदारी न्याय प्रणालीमा देखिएका चुनौती र सुधारका उपायहरू’ विषयक एकदिने गोष्ठीको उद्घाटन गर्दै प्रधानन्यायाधीश राउतले यस्तो बताएका हुन्।

उनले फौजदारी न्याय प्रशासनलाई प्रभावकारी बनाउन अपराधको अनुसन्धान बयानमुखी भन्दा प्रमाणमुखी हुन आवश्यक रहेको बताए।

प्रधानन्यायाधीश राउतले तथ्य र प्रमाणमुखी अनुसन्धान एवं अभियोजनबाट मात्रै फौजदारी न्याय प्रशासन प्रभावकारी हुने बताए।

त्यसका लागि फौजदारी न्याय प्रणालीसँग सम्बन्धित पक्षहरू अनुसन्धान गर्ने संस्था (प्रहरी), अभियोजनकर्ता (सरकारी वकिल) र न्याय निरूपण गर्ने संस्था (अदालत)बीच निरन्तर संवाद र समन्वय पनि आवश्यक रहेको प्रधानन्यायाधीश राउतको भनाइ छ ।

अनुसन्धानलाई बयानमुखीभन्दा सबुद प्रमाणमुखी बनाउन सके अपराधकर्म तथ्य र प्रमाणबाट स्थापित हुने र दोषीले सजाय पाउने अवस्थाबाट समाजमा दण्डहीनताको संस्कृति अन्त्य हुने आफ्नो विश्वास रहेको उनले बताए ।

गोष्ठीमा अदालत र सरकारी वकिल तथा नेपाल प्रहरीका विशिष्टीकृत अनुसन्धान गर्ने युनिटसहित सातवटै प्रदेशका विभिन्न जिल्लाका अनुसन्धान अधिकृतहरू सहभागी छन् ।

प्रकाशित मिति: ११ कार्तिक २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्