अनुमानका भरमा सूचना सम्प्रेषण नगर्न रविका समर्थकहरुलाई कास्की प्रहरीको आग्रह


 


पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकहरुले सामाजिक सञ्जालमा भ्रमपूर्ण अभिव्यक्ति दिइरहेको जनाएको छ ।

सामाजिक संञ्जाल फेसबुकमा विज्ञप्ती जारी गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीले यस्तो जनाएको हो ।

कास्की प्रहरीले सभापति लामिछानेको समर्थनमा सामाजिक सञ्जालमा भ्रमपूर्ण अभिव्यक्ति आएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

प्रहरीलाई बदनाम गराउने गरी लामिछानेको पक्षमा पोष्ट गरिएका अभिव्यक्तिप्रति कास्की प्रहरी रुष्ट बनेको छ।

कास्की प्रहरीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘अनुसन्धानको क्रममा रहेका लामिछानेलाई सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा म्याद थप गर्न अदालतमा उपस्थित गराउँदा इजलासमा आदरार्थी शब्दको प्रयोग नगरेको, इजलासमा हतियार सहित प्रवेश गरेको, धम्काएको एवं प्रहरी हिरासतमा समेत दुर्व्यवहार गरेको भन्ने जस्ता भ्रामक, झुट्टा र अनुमानमा आधारित कपोकल्पित भ्रमपूर्ण विचारहरू सामाजिक सञ्जालहरुमा सम्प्रेषण भएको सन्दर्भमा यस जिल्ला प्रहरी कार्यालय, कास्कीको गम्भिर ध्यानाकर्षण भएको छ । फौजदारी न्याय प्रणालीका मूल्य मान्यताको अनुशरण गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय, कास्की सदैव प्रतिबद्ध रहेको अनुरोध गर्दछ ।’

त्यस्ता अभिव्यक्ति तथ्यहीन र भ्रामक भएको प्रहरीले जनाएको छ ।

झुट्टा समाचारहरूबाट जनमानसमा गलत सूचनाको सम्प्रेषण र सन्देश प्रवाह हुने र मुद्दाको तथ्यपूर्ण अनुसन्धानमा समेत नकारात्मक प्रभाव पर्ने हुनाले तथ्यमा आधारित रहेर मात्र सूचना सम्प्रेषण गर्न कास्की प्रहरीले आग्रह समेत गरेको छ ।

अनुमानका भरमा सूचना सम्प्रेषण नगर्न पनि सामाजिक सञ्जालका प्रयोगकर्ताहरुलाई प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति: ११ कार्तिक २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्