कैलाली प्रहरीमाथि धनगढीका मेयर गोपाल हमालले किन उठाए प्रश्न ?


 


धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले कैलाली प्रहरीमाथि प्रश्न उठाएका छन् । शनिबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उनले जिल्ला प्रहरी कार्यालय कैलालीमाथि प्रश्न उठाएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘कैलाली जिल्ला प्रहरी ?’ तर उनले किन प्रहरीमाथि प्रश्न तेर्साएका हुन त्यो भने खुलाएका छैनन् । तर स्रोतका अनुसार शनिबार उपमहानगरपालिकाका एकजना कर्मचारी भारतीय बजारबाट सामान ल्याएर फर्किएका थिए ।

सोही क्रममा प्रहरीले धनगढीको ट्राफिक चौराहामा चेकजाँच गरेको थियो । त्यही विषयलाई लिएर मेयर हमालले प्रश्न उठाएको हुनसक्ने बताइएको छ । उसो त शनिबार सार्वजनिक सवारी चलाउन पाइँदैन ।

सरकारी सवारी चलाउनै परे प्रशासनबाट स्वीकृति लिनुपर्ने हुन्छ । तर ती उपमहानगरपालिकाका कर्मचारीले शनिबार सार्वजनिक सवारी चलाएको बताइएको छ । उनले व्यक्तिगत प्रयोजनका लागि चाहिने सामान ल्याएर आएको पनि बताइएको छ ।

यता कैलाली प्रहरीले दिपावलीलाई मध्यनजर गरेर सिमानाकामा कडाई गरेको छ । सिमामाबाट भित्रिने सबै गाडीमा कडा निगरानी गरिरहेको छ ।

प्रकाशित मिति: ११ कार्तिक २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्