एकीकृत समाजवादीका प्रदेश सम्मेलन मङ्सिर मसान्तसम्म सम्पन्न गर्न निर्देशन
काठमाडौँ, कार्तिक ११ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीका सबै प्रदेश सम्मेलन आगामी मङ्सिर मसान्तसम्म सम्पन्न गर्न निर्देशन दिएको छ ।
पार्टी सचिव सोमप्रसाद पाण्डेयले हाल कायम रहेको प्रदेश कमिटीलाई सम्मेलन सम्पन्न गर्न पत्राचार गरिएको जानकारी दिए ।
साथै पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा रहेको कार्यदलले सबै जनवर्गीय सङ्गठनका प्रदेश इन्चार्ज तोक्न, नेताहरूको कार्यविभाजन, विभिन्न आयोग तथा विभाग गठन गर्न र नेताहरूको अनुभव, योगदान तथा सक्षमताको मूल्याङ्कन गरी नाम प्रस्ताव गर्ने जनाइएको छ ।
कार्यदलमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहित सात पदाधिकारी छन् । नेताहरूको क्षमता, विगतका कार्यसम्पादनको मूल्याङ्कन गर्न गठित कार्यदलले जिम्मेवारी हेरफेर तथा सङ्गठनिक कार्यविभाजनको गृहकार्य तथा परामर्श गरिरहेको सचिव पाण्डेयले बताए ।
कार्यविभाजन गर्नुअघि पार्टीका असन्तुष्ट नेतासँग छलफल गरी नेताहरूको छिट्टै जिम्मेवारी हेरफेर तथा कार्यविभाजन गरिने जनाइएको छ ।
कम्युनिष्ट नेता वामदेव गौतम नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियान र एकीकृत समाजवादी पार्टीबीच एकीकरणको गृहकार्य भइरहेको छ ।
प्रकाशित मिति: ११ कार्तिक २०८१, आइतबार