जयपृथ्वी राजमार्ग सुक्खा पहिरो, यातायात अवरूद्ध
बझाङ, कार्तिक ११ । बझाङमा सुक्खा पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरूद्ध भएको छ ।
जिल्लाको छविसपाथिभेरा गाउँपालिका–१ जालेबगर नजिकै बालुवाटारमा खसेको पहिराले सडक अवरूद्ध भएको हो । पहिरो खस्दा जिल्लाको यातायात सेवा प्रभावित बनेको प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले बताइन् । उनका अनुसार पहिरो पन्छाउने काम भइरहेको छ ।
दुई साताअघि सोही ठाउँमा सुक्खा पहिरो खस्दा पाँच दिनसम्म सडक अवरुद्ध बनेको थियो ।
लगातार सुक्खा पहिरो खसिरहेकाले सडक खुलाउन समय लाग्ने सडक विभाग कार्यालय बैतडीका प्रमुख लक्ष्मण जोशीले बताए ।
प्रकाशित मिति: ११ कार्तिक २०८१, आइतबार