बेलबारी गोल्डकप उपाधि झापालाई


 


उर्लाबारी, १० कात्तिक । आरजु राइस बेलबारी गोल्डकप फुटबलको उपाधि झापा–११ फुटबल क्लबले जितेको छ ।

मोरङको बेलबारी–११ स्थित लक्ष्मी खेल मैदानमा शनिबार भएको फाइनलमा सलहेस फुटबल क्लब सिराहालाई टाइब्रेकरमा ५–३ गोलले हराउँदै झापाले उपाधि रक्षा गरेको हो । उपाधिसँगै झापाले आठ लाख रुपियाँ पुरस्कार पायो । उपविजेता सलहेस सिराहाले चार लाख रुपियाँ पायो ।

टाइब्रेकरमा झापालाई जिताउन दिनेश उराव, अभिषेक गुरुङ, सौरभ लिम्बू, उत्सव राई र देवेन्द्र तामाङले गोल गर्नुभयो । सलहेशको राम थापा, आदित्य शाक्य र विप्लव गुरुङले मात्र गोल गर्नुभयो । सलहेशका समीर तामाङको प्रहार झापाका गोल रक्षक सन्दीप लिम्बूले बचाउनुभयो ।

यसअघि ५०औँ मिनेटमा सलहेशका अजयी मार्टिनले हेड गोल गर्दै अग्रता दिलाउनुभएको थियो । तर, ७१औँ मिनेटमा झापाका प्रदीप बुढाथोकी गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । निर्धारित ९० मिनेटपछि टाइब्रेकरमा पुगेको खेलमा झापा भाग्यमानी बन्यो ।

फाइनल खेलको म्यान अफ दि म्याच अभिषेक गुरुङ हुनुभयो । उहाँले पाँच हजार रुपियाँ पाउनुभयो । यस्तै झापाका सन्दीप लिम्बू उत्कृष्ट गोलरक्षक, उत्सव राई उत्कृष्ट मिडफिल्डर, सन्तोष गुरुङ उत्कृष्ट प्रशिक्षक र देवेन्द्र तामाङ सर्वश्रेष्ठ खेलाडी घोषित हुनुभयो । तामाङलाई १० हजार र अन्य खेलाडीलाई जनही सात हजार रुपियाँ पुरस्कार प्रदान गरियो ।

सलहेशका अजयी मार्टिनले सर्वाधिक गोलकर्ताको बन्नुभयो । उहाँले पाँच गोल गर्नुभएको थियो । सलहेशकै समीर तामाङले उत्कृष्ट स्ट्रईकरको पुरस्कार स्वरूप सात हजार रुपियाँ पाउनुभयो । विजयी टिमका खेलाडीलाई कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईलगायतले पुरस्कार प्रदान गर्नुभयो ।

प्रकाशित मिति: १० कार्तिक २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्