टेनिस प्रतियोगितामा सुनिरा र रिसिकलाई एक लाख पुरस्कार


 


पाटन १० कात्तिक । वीर गणेशमान सिंह चौथो राष्ट्रिय टेनिस प्रतियोगिता सुनिरा थापा र रिसिक राणालाई रु एक लाख पुरस्कार प्रदान गरिएको छ ।

नेपाल टेनिस सङ्घको खेलमैदान सातदोबाटोमा गणेशमान सिंह फाउण्डेशनद्वारा आयोजित वीर गणेशमान चौथो राष्ट्रिय टेनिस प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोहमा आज उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले उहाँहरूलाई मेडल, प्रमाणपत्रसहित रु एक लाखको चेक हस्तान्तरण गर्नुभयो ।

महिला सिंगलतर्फको उपाधिका लागि सुनीरा थापाले अभिलाशा विष्टलाई पराजित गर्दै उपाधि हात पार्नुभएको हो । सेमिफाइनलमा अभिलाशाले प्राज्ना मानन्धरलाई र सुनीराले स्वस्तिका विष्टलाई पराजित गर्नुभएको थियो ।

पुरुष सिंगलतर्फ ऋतिक राणाले राजवीर प्रधानलाई पराजित गर्दै उपाधि हात पार्नुभयो । यसअघि सेमिफाइनलमा राजवीरले प्रणव मानन्धरलाई र ऋतिकले आयुष्मान् घलेलाई पराजित गर्दै उपाधि यात्रा तय गर्नुभएको थियो ।

प्रतियोगितामा पूर्व उपप्रधानमन्त्री कमल थापाले दुई उपाधि हात पार्नुभएको छ । थापाले पुरुष ५५ वर्षमाथि र ६५ वर्षमाथि उमेर समूहको सिंगलमा गरी दुई उपाधि चुम्न सफल हुनुभएको हो । उहाँले ५५ वर्षमाथि उमेर समूहको फाइनलमा मनोजविक्रम शाहलाई र ६५ वर्षमाथि सिंगलमा ध्रुव गुरुङलाई पाराजित गर्दै उपाधि हात पार्नुभएको हो ।

पुरुष डबल्सको उपाधि प्रदीप खड्का र आयुष्मान् घलेले हात पार्नुभएको छ । उहाँहरूले फाइनलमा प्रणव खनाल र निहालजंग बहादुर थापालाई पराजित गर्नुभएको हो ।

पुरुष ४५ वर्षमाथि डबल्समा डिगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडी प्रथम हुन सफल भयो । यो जोडीले फाइनलमा महेश श्रेष्ठ र मानबहादुर कटुवालको जोडीलाई हराएको हो । यु–१२ उमेर समूहको महिलातर्फ सिंगलमा अनुश्री धोजु र पुरुष सिंगलमा विश्व डल्लाकोटी प्रथम हुन सफल हुनुभयो । अनुश्रीले फाइनलमा सारा पन्तलाई र विश्वले आरित मल्ललाई हराउँदै उपाधि जित्न सफल हुनुभएको हो ।

प्रकाशित मिति: १० कार्तिक २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्