मधेशको खानेपानी समस्या समाधानको पहल भइरहेको छ : मन्त्री यादव


 


वीरगञ्ज, १० कात्तिक । खानेपानी मन्त्री प्रदीप यादवले पछिल्लो केही वर्षदेखि मधेशमा देखिएको खानेपानीको समस्या समाधानका लागि खानेपानी मन्त्रालयले काम गरिरहेको बताउनुभएको छ।

चुरे दोहनका कारण मधेशमा खानेपानीको समस्या देखापरेको विज्ञले बताएकाले उक्त समस्यालाई अल्पकालीन तथा दीर्घकालीन रुपमा समाधान गर्नका लागि योजना बनाएर खानेपानी मन्त्रालय अगाडि बढेको बताउनुभएको हो। शनिबार वीरगञ्जको रेडियो सीमाञ्चलको उद्घाटन कार्यक्रममा सम्बोधनका क्रममा मन्त्री यादवले यस्तो बताउनुभएको हो।

मधेशमा देखिएको खानेपानीको दीर्घकालीन समाधानका लागि बनाउदै गरेको सुनकोशी डाईभर्सनलाई सिँचाइसँगै सुनकोशीको पानी पिउन योग्य बनाई मधेश ६ जिल्लामा खानेपानी वितरण गर्न सकिने उहाँको भनाइ छ।

मकवानपुरमा रहेको ठूलो मुहानको पानी मधेशका जिल्लामा ल्याउनका लागि अध्ययन भइरहेको मन्त्री यादवले बताउनुभयो। मन्त्री यादवले हरेक समयमा समाजको लागि सञ्चारक्षेत्रको अहम भूमिका रहेको र त्यसमा पनि सामुदायिक रेडियोले तल्लो वर्गका आवाजलाई उठाउने, नागरिकमा सूचना सम्प्रेषण गरेर सुसूचित गराउनुका साथै नागरिकको कुरा सरकारसम्म पुर्याउने र सरकारको गतिविधि पनि नागरिकसम्म पुर्याउने काम गरीरहेको बताउनुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले सञ्चार माध्यमले आग्रह पूर्वाग्रहले प्रेरित भन्दा पनि जनताले विश्वास गर्ने सूचना र समाचार सम्प्रेषण गर्नुपर्ने धारणा राख्नुभयो।

प्रकाशित मिति: १० कार्तिक २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्