आइसिसी विश्वकप लिग–२ अमेरिका सिरिजका लागि नेपाली टोलीको घोषणा


 


काठमाडौँ, १० कात्तिक । अमेरिकामा शनिबारदेखि सुरु भएको आइसिसी एक दिवसीय विश्वकप लिग–२ सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले शनिबार साँझ रोहितकुमार पौडेलको कप्तानीमा दुई अतिरिक्तसहित १७ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो ।

टोलीमा कुशल भुर्तेल, आशिफ शेख, अनिल शाह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी हुनुहुन्छ । यस्तै देव खनाल र सागर ढकाललाई अतिरिक्त खेलाडीमा राखिएको छ ।

अमेरिका, नेपाल र स्कटल्यान्ड सम्मिलित यस सिरिजमा नेपालले आफ्नो पहिलो खेल आइतबार अमेरिकासँग खेल्नेछ । नेपालले दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग, नेपालले तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा अन्तिम खेलमा कात्तिक १९ गते स्कटल्यान्डसँग खेल्नेछ ।

लिगमा आठ खेलबाट तीन अङ्क बनाएको नेपाल सातौँ स्थानमा छ । आठ देश सहभागी लिग–२ मा नेपाल यसअघि क्यानडामा आयोजक क्यानडा, नेपाल र ओमान सम्मिलित त्रिकोणात्मक सिरिज खेलेर अमेरिका गएको हो ।

प्रकाशित मिति: १० कार्तिक २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्