भारतको लाइफ केयरले जित्यो बिपी कोइराला स्मृति कपको उपाधि


 


बुटवल १० कात्तिक । बिपी कोइराला स्मृति कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि भारतको लाइफ केयर क्रिकेट क्लबले जितेको छ।

रुपन्देहीको भैरहवा स्थित सिद्धार्थ रङ्गशालामा शनिबार भएको फाइनलमा लाइफ केयरले नेपालको नेक्सस रुपन्देही–११ लाई २१ रनले हरायो । जितका लागि एक सय ६५ रनको लक्ष्य पछ्याएको नेक्सस रुपन्देहीले २० ओभरमा सबै विकेटको क्षतिमा एक सय ४३ रन मात्र बनाउन सक्यो ।

नेक्ससका कप्तान कृष्ण कार्कीले सर्वाधिक ३५ रन बनाए । यस्तै बसिर अहमदले २५, शङ्कर रानाले २४, सुमित महर्जनले २० तथा मृनाल गुरुङले १५ रन बनाए ।

बलिङमा लाइफ केयरका सक्षम शर्माले तीन विकेट लिए । जस्मित नैन र कप्तान योगेश कुमारले दुई दुई तथा रोहित दांगवाल, शुभम लाम्बा, क्षितिज त्रिपाठीले एक एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको लाइफ केयरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६४ रन बनाएको थियो । लाइफ केयरको लागि शुभम लाम्बाले सर्वाधिक ३९ रन बनाए। यस्तै दीपक पुनियाले ३८, एकांश दोबलले २५, दिपांशु फोरेले २४, राजेश शर्माले १७ तथा विपुल कम्बोजले अविजित १० रन बनाए ।

बलिङमा नेक्सस रुपन्देहीका दिपेश कँडेलले दुई विकेट लिए । शाहब आलम, बसिर अहमद, दिनेश अधिकारी र कृष्ण कार्कीले एक एक विकेट लिए । उपाधि सहित लाइफ केयर क्रिकेट क्लबले पाँच लाख रुपैयाँ पुरस्कार पायो । उपविजेता नेक्सस रुपन्देहीले तीन लाख रुपियाँ प्राप्त गरेको छ ।

प्रकाशित मिति: १० कार्तिक २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्