दाङमा बोलेरो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते


 


दाङ, कार्तिक १० । दाङमा बोलेरो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सल्यानबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ८२२ नम्बरको गाडी शनिवार बिहान करिब साढे तीन बजेतिर राप्ती लोकमार्गअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–३ साततलेमा दुर्घटना हुँदा गाडी चालकसहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनका अनुसार दुर्घटनामा गाडी चालक दंगीशरण गाउँपालिका–४ निवासी २२ वर्षीय हिरामणि बुढा र सल्यान कपुरकोट गाउँपालिका–६ निवासी १९ वर्षीय सुरेश खड्काको मृत्यु भएको हो ।

उनीहरूको घट्नास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं प्रहरी नायव उपरीक्षक अनिल ठकुरीले जानकारी दिए ।

दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइते हुनेमा सल्यान कपुरकोट गाउँपालिका–६ निवासी ३१ वर्षीय देवा वली, उनका छोराहरू १३ वर्षीय महेश र १० वर्षीय जीवन वली रहेका छन् ।

उनीहरूलाई तुलसीपुरस्थीत राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । प्रहरीका अनुसार गाडीदेखि तीन सय मिटर तल खसेको छ ।

प्रकाशित मिति: १० कार्तिक २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्