मुस्ताङमा लेक लागेर दुई विदेशीसहित तीन जनाको मृत्यु
जोमसोम, कार्तिक १० । मुस्ताङमा लेक लागेर तीन दिनको अवधिमा दुई विदेशी नागरिकसहित तीन जना पर्यटकको मृत्यु भएको छ ।
मुक्तिनाथ दर्शन गर्न आएका एक जना अमेरिकन, एक भारतीय र एक जना नेपाली पर्यटक गरी तीन जनाको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी सूर्यबहादुर बोगटीका अनुसार गोरखा नगरपालिका—६ स्थायी वतन भई काठमाडौं नागार्जुन नगरपालिका—१ बस्ने ७० वर्षीय कुलनारायण जोशीको लेक लागेर मृत्यु भएको छ ।
त्यसैगरी बिहीबार मुक्तिनाथ दर्शन गरी फर्किएका २२ जनामध्ये अमेरिकन नागरिक ६३ वर्षीय मिलो गोल्डसेजरको पनि लेक लागेर मृत्यु भएको छ ।
बिहीबार होटलमा बास बसेका अमेरिकन नागरिक गोल्डेसेजर भोलिपल्ट बिहान कोठाको बाथरुममै ढलेर अचेत बनेका थिए । उनलाई मुस्ताङ अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो ।
यसैगरी शुक्रबार नै मुक्तिनाथ दर्र्शन गरी फर्किएकी भारत महाराष्ट्र मुम्बई, अधेरी वेष्ट वर्सोवा घर भएकी ६९ वर्षीया शारदा महादेव लगडेको मृत्यु भएको छ ।
मुस्ताङका डीएसपी बोगटीले मुस्ताङ आउँदा लेक लागेर मृत्यु भएका दुई विदेशीसहित तीन जनाको आवश्यक अनुसन्धान भइरहेको बताए । मुस्ताङका उच्च क्षेत्रमा स्वास्थ्य परीक्षणविना एकैपटक होल्डिङ नगरी पर्यटक जांदा लेक लाग्ने समस्या देखिने गर्छ ।
प्रकाशित मिति: १० कार्तिक २०८१, शनिबार