रवि लामिछाने पक्राउपछि पहिलोपटक रास्वपाको बैठक बस्दै
काठमाडौं, कार्तिक १० । सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पक्राउ परेपछि पहिलोपटक शनिबार रास्वपाको केन्द्रीय समिति बैठक बस्दैछ ।
रास्वपाको बैठक शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न लागेको हो ।
बैठक कसको अध्यक्षतामा बस्न लागेको हो भन्ने खुलाइएको छैन । लामिछाने हिरासतमा रहँदा रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी भने कसैलाई तोकिएको छैन ।
बैठकमा समसामयिक राजनीतिक गतिविधि, आगामी कार्यदिशा र विविध विषयमा छलफल हुने कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
सभापति लामिछाने अघिल्लो शुक्रबार साँझ सहकारी ठगी प्रकरणमा पार्टी कार्यालयबाटै पक्राउ परेका थिए । लामिछानेलाई प्रहरीले पक्राउ गरेर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेको छ ।
लामिछाने पक्राउ परेसँगै रास्वपाले पोखरामा लगातार पाँच दिन विरोध प्रदर्शन गरेको थियो । शुक्रबारबाट भने रास्वपाको प्रदर्शन काठमाडौंकेन्द्रित बनेको छ ।
प्रकाशित मिति: १० कार्तिक २०८१, शनिबार