माओबादी केन्द्रले आज सरकारविरुद्ध खबरदारी सभा गर्दै
काठमाडौँ, कार्तिक १० । नेकपा माओवादी केन्द्रले सरकारविद्ध आज (शनिबार) काठमाडौँमा खबरदारी सभा आयोजना गर्दैछ ।
बागमती प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय समितिको संयुक्त आयोजनामा जनप्रदर्शनसहित खबरदारी सभा हुन लागेको हो ।
केपी शर्मा ओली नेतृत्वका सरकारको सय दिन पूर्णतः असफल रहेको निष्कर्ष निकालेको माओवादीले काठमाडौँमा खबरदारी सभा गर्न लागेको उपत्यका विशेष समितिका अध्यक्ष जगत सिंखडाले बताए ।
आज बिहान ११ बजे काठमाडौँ मलमा जम्मा हुन नेता तथा कार्यकर्ताहरू निर्देशन दिइएको छ । त्यहाँबाट बाजा, झाँकीसहित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा जुलुस निस्किनेछ । जुलुस भद्रकाली, सहिद गेट हुँदै काठमाडौँ मलमा जम्मा हुनेछ । सबै जम्मा भएपछि रत्नपार्क, बागबजार, प्रदर्शनी मार्ग हुँदै भृकुटीमण्डपमा आएर खबरदारी सभामा परिणत हुने अध्यक्ष सिंखडाले जानकारी दिए ।
जुलुसमा उपत्यका भित्रबाट मात्र नेता कार्यकर्ता सहभागी हुने बताइएको छ । सभामा करिब २५ देखि ३० हजारसम्म सहभागी हुने आकलन गरिएको छ ।
कांग्रेस र एमाले मिलेर असारमा सरकार बनाएपछि माओवादी सत्ताबाट बाहिरिएको थियो ।
प्रकाशित मिति: १० कार्तिक २०८१, शनिबार