‘राजनीतिक सहमतिका साथ संविधान संशोधनको प्रक्रिया अगाडि बढ्छ’


 


काठमाडौँ ९ कात्तिक । गृहमन्त्री रमेश लेखकले प्रारम्भिक सय दिनमा गरेका कामका आधारमा वर्तमान सरकार सफलतापूर्वक अगाडि बढिरहेको बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता साझेदार राजनीतिक दलहरूको बैठकपछि सञ्चारकर्मीको जिज्ञासामा उहाँले संविधानले प्रत्याभूत गरेको व्यवस्थालाई थप सुदृढ गर्न र जनजीविकाका सवालमा जनतालाई बढीभन्दा बढी सुविधा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

गृहमन्त्री लेखकले बाढी पहिरोलगायत प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिको पीडालाई सम्बोधन गर्न सरकार सचेतनापूर्वक अगाडि बढ्नुपर्छ भन्ने विषयमा सत्ता साझेदार दलहरूको बैठकले पनि दृढताका साथ प्रतिबद्धता व्यक्त गरेको जानकारी दिनुभयो ।

सरकारको फेरबदल हुन्छ भन्ने निरर्थक र भ्रमपूर्ण हल्लाको पछाडि कुनै तर्क र अर्थ नरहेको भन्नुहुँदै उहाँले वर्तमान सरकार बहुमतका साथ अगाडि बढिरहेकाले त्यस्तो भ्रममा नपर्न आग्रह गर्नुभयो ।

लेखकले सत्ता साझेदार दलहरूबीच आगामी दिनमा निरन्तर बैठक बसी जनजीविकालगायत समसामयिक विषयमा छलफल हुने जानकारी दिनुभयो ।

प्रकाशित मिति: ९ कार्तिक २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्