यी स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
काठमाडौं, कार्तिक ९ । देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ ।
कोशी प्रदेशमा बंगालको खाडीमा विकसित चक्रवातको आंशिक प्रभाव समेत छ । जसले गर्दा हाल कोशी प्रदेशलगायत केही पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रहेको छ ।
देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
कोशी प्रदेश लगायत देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।
त्यस्तै आज राति कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
कोशी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: ९ कार्तिक २०८१, शुक्रबार