साफ वुमन्स च्याम्पियनसिप : माल्दिभ्सलाई पराजित गर्दै भुटान सेमिफाइनलमा


 


काठमाडौं । माल्दिभ्सलाई पराजित गर्दै भुटान साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ।

समूह बी अन्तर्गत बिहीबार दशरथ रंगशालमा भएको खेलमा भुटानले माल्दिभ्सलाई १३-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

भुटानको फराकिलो जितमा देकी लाजोम एक्लैले ५ गोल गरिन् । कप्तान पेमा छोडेन छिरिङ र छिरिङ यान्डेले दुई-दुई तथा सोनाम छोडेन, नाम्ग्याल देमा, देकी याङडोन र छिरिङ लाडेनले एक-एक गोल गरे।

जितपछि समूह बी मा भुटान ३ खेलबाट ७ अंक जोडेर सेमिफाइनलमा पुगेको हो । भुटान लगातार दोस्रो पटक साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

यसअघि २०२२ मा नेपालमै भएको साफमा भुटान पहिलो पटक सेमिफाइनल पुगेको थियो। अब आजै हुने घरेलु टोली नेपाल र श्रीलंकाबीचको खेलबाट सेमिफाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ ।

दुई खेलबाट नेपालको ४ अंक छ भने श्रीलंकाको ३ अंक छ । नेपाललाई सेमिफाइनल पुग्न बराबरी नै पर्याप्त हुनेछ भने श्रीलंकालाई नेपाल विरुद्ध जित निकाल्नैपर्ने आवश्यकता छ ।

भुटानले माल्दिभ्सलाई फराकिलो अन्तरले पराजित गरेकोले नेपालले समूह बी को विजेता बन्न श्रीलंकालाई कम्तीमा पनि ६ गोल अन्तरले पराजित गर्नुपर्नेछ ।

नेपालले श्रीलंकासँग बराबरी खेले वा ५ भन्दा कम गोलअन्तरमा विजयी भए भुटान समूह बी को विजेता बन्नेछ भने नेपाल उपविजेता बन्नेछ।

प्रकाशित मिति: ८ कार्तिक २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्