जीबी र रविका पार्टनर छविलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति


 


काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले जोशीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

उनी गत असोज ६ गते पक्राउ परेका थिए । पक्राउ परेसँगै उनको म्याद थप हुँदै आएको छ ।

विभिन्न ५ सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोडभन्दा बढी रकम अपचलनमा उनको पनि संलग्नता रहेको भन्दै संसदीय छानबिन समितिले समेत कारबाही गर्न सिफारिस गरेको थियो ।

छविलाल जोशी जीबी राई र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका व्यापारिक साझेदारसमेत हुन् ।

संसदीय विशेष समितिले सूर्यदर्शन, सुप्रिम लगायतका सहकारीको रकम गोर्खा मिडियामा अपचलन भएको निष्कर्षसहित रास्वपा सभापति लामिछानेसहित जीबी राई, कुमार रम्तेलर र छविलाल जोशीलाई कारबाही गर्न सिफारिस गरेको थियो ।

गोरखा मिडिया नेटवर्क प्रालिमा उनीहरु तीन व्यापारिक साझेदार रहेका थिए ।

ग्यालेक्सी टेलिभिजन सञ्‍चालन गर्ने संस्था गोर्खा मिडियामा जोशीको ५० प्रतिशत सेयर थियो। टेलिभिजन सञ्चालन भएको केही समयपछि उनले गोर्खा मिडिया छाडेका थिए।

बिहीबार नै अदालतले रास्वपाका सभापति रवि लामिछानेको पनि ७ दिन नै म्याद थपको आदेश गरेको छ ।

प्रकाशित मिति: ८ कार्तिक २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्