हनि ट्रयापिङ गिरोहको इटहरी प्रहरीमा पनि नेक्सस


 


काठमाडौं । युवतीहरु परिचालन गरी धनाढ्यहरुलाई फसाउँदै आएको हनि ट्रयापिङ गिरोहको इटहरी प्रहरीमा पनि निकटस्थ सम्बन्ध देखिएको छ ।

भैंसेपाटी प्रभागमा गत ७ असोजमा एक जग्गा व्यापारीलाई थुनामा राखेर पैसा असुल्ने ताज इस्लामको इटहरीका धेरै प्रहरीसँग निकटस्थ सम्बन्ध रहेको अनुसन्धानमा खुलेको छ ।

त्यसमध्ये हवल्दार बिनोद ओझासँगको सम्बन्ध शंस्कापद छ । नियमित सम्पर्कमा रहने मात्र होइन भैंसेपाटी प्रभागमा भएको सेटिङको विषयमा ओझालाई समेत जानकारी रहेको देखिएको छ ।

ओझा १२ वर्षदेखि इप्रका इटहरीमा घुमुवाका रुपमा कार्यरत प्रहरी हुन् । सो गिरोहमा आबद्ध दर्शन पोखरेलसँग पनि ओझाको निकस्टथ सम्बन्ध फेसबुकबाटै देखिन्छ ।

फेसबुकमा फोटो राखेरै पोखरेललाई उनले जन्मदिनको शुभकामना दिएका छन् । पोखरेल हाल फरार छन् । हवल्दार ओझामाथि विस्तृत अनुसन्धान भएमा उनी समेत फस्ने देखिएको छ ।

हनि ट्रापिङमात्र होइन इस्लाम तस्करी लगायत धेरै धन्दामा संलग्न थिए । हवल्दार ओझासँगै मिलेर उनले यस्तो धन्दा चलाउँदै आएको स्रोत बताउँछ ।

सो गिरोहले सुरुमा इटहरीमै ती व्यापारीलाई थुनामा राखी पैसा असुल्ने योजना बनाएको थियो। जसमा ओझाले सहयोग गरेपनि डिएसपीले नमानेपछि उनीहरु ललितपुर आएका हुन् ।

एसपी कमल थापाले उनीहरुलाई भैंसेपाटी प्रभागमा पठाएका थिए । त्यहाँ एसपी थापासँग निकट इन्सपेक्टर बिनुकुमारी शाही कार्यरत थिइन् । सेटिङ मिलेपछि त्यहाँ व्यापारीलाई थुनेर ३० लाख रुपैयाँमा सहमति गरिएको थियो ।

जुन घटनामा इस्लामसहित चार जना हाल थुनामा छन् भने इन्सपेक्टर शाही र दर्शन पोखरेल फरार छन् । सरकारी वकिल कार्यालयले एसपी थापाको पनि बयान गर्न निर्देशन दिएको छ ।

तर, इन्सपेक्टरलाई फरार बनाएर एसपीलाई जोगाउन एक समूह लागिरहेको स्रोत बताउँछ । संगठित अपराधको कसुर भएकाले यसमा सघाउनेहरु समेत तानिने सम्भावना छ ।

प्रकाशित मिति: ८ कार्तिक २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्