आज रवि र छवि दुबैलाई एकसाथ अदालत पेश गरिँदै


 


पोखरा, कार्तिक ८ । सहकारी ठगी प्रकरण र संगठित अपराध मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई म्याद थपका लागि आज कास्की जिल्ला अदालतमा पेस गरिँदैछ ।

पहिलो पटक थपिएको ६ दिनको म्याद बुधबारसम्म रहेकोमा बयान नसकिएपछि प्रहरीले आज पुनः म्याद थपका लागि अदालतमा पेस गर्न लागेको हो ।

अनुसन्धानका क्रममा प्रमाण जुटाउने, कागजात मगाउने कार्य भइरहेकाले बयान नसकिएको कास्की प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले बताए ।

उनका अनुसार आज रविसँगै गोरखा मिडिया नेटवर्कमा साझेदार बनेका पूर्वडिआइजी छविलाल जोशीलाई पनि म्याद थपका लागि अदालतमा उपस्थित गराइँदै छ ।

लामिछानेलाई प्रहरीले कार्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर पोखरा लगेको थियो । जोशी भने असोज ६ गते काठमाडौँबाट पक्राउ परेका थिए ।

प्रकाशित मिति: ८ कार्तिक २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्