स्कुल निर्माणको काममा श्रमदान गर्दै बेलायती नागरिक


 


धनगढी, कार्तिक ८ । कैलालीको धनगढीमा निर्माण भइरहेको भोकेसनल स्कुलमा १९ जना बेलायती नागरिक श्रमदानमा जुटेका छन् ।

धनगढी उपमहानगरपालिका–१८ एफ गाउँमा नेपाल युथ फाउन्डेसन नेपाल र धनगढी उपमहानगरपालिकाको साझेदारीमा निर्माण भइरहेको ओल्गापुरी भोकेसनल स्कुलमा बेलायती नागरिक श्रमदान गर्न थालेका हुन् ।

स्कुलमा बेलायती नागरिक हेजल ग्रेसको नेतृत्वमा पाँच दिनका लागि १९ जना बेलायती नागरिक श्रमदानमा जुटेका हुन् । 

कात्तिक ४ गतेदेखि श्रमदानमा जुटेका बेलायती नागरिकले ८ गतेसम्म श्रमदान गर्ने छन् ।

बेलायती संस्था सपोर्टिङ नेपाल्स चिल्ड्रेनको आर्थिक अनुदानमा नेपाल युथ फाउन्डेसनमार्फत तीन करोड ४३ लाख बराबरको लागतमा उपमहानगरपालिकाको साझेदारीमा भोकेसनल स्कुलको निर्माण कार्य भइरहेको छ ।

आर्थिक अनुदानसँगै केही दिन श्रमदान गर्दा संस्थाप्रतिको अपनत्वमा वृद्धि हुने श्रमदान टोलीको नेतृत्व गरिरहेकी बेलायती नागरिक ग्रेसको भनाइ छ । उनले नागरिकलाई सीप सिकेर रोजगारमुखी बनून् भन्ने सन्देश दिनसमेत आफूहरूले श्रमदान गर्न लागेको बताइन् ।   

प्रकाशित मिति: ८ कार्तिक २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्