लुम्बिनीमा थपिएका तीन मन्त्रीहरूले आज शपथ लिँदै


 


काठमाडौं, कार्तिक ८ । लुम्बिनी प्रदेश मन्त्रिपरिषदमा थपिएका तीनजना मन्त्रीहरूले आज शपथग्रहण गर्दैछन् ।

मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली कांग्रेसबाट दुई र जनता समाजवादी पार्टीबाट एकजना मन्त्रीलाई बुधवार मन्त्री पदमा नियुक्त गरेका थिए ।

उनले कांग्रेसबाट जन्मजय तिमिल्सिना र देवकरण कलवार तथा अशोक राई नेतृत्वको जसपाबाट आदेशकुमार अग्रवाललाई मन्त्री नियुक्त गरेका हुन् । उनीहरूलाई आज प्रदेश प्रमुख कृष्ण घर्तीले शपथ ग्रहण गराउने छन् ।

बर्दियाबाट निर्वाचित कांग्रेसका तिमिल्सिनालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने नवलपरासीबाट निर्वाचन कलवारलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसअघिका मन्त्री बादशाह कुर्मीले राजीनामा दिएपछि वन मन्त्रालय रिक्त रहेको थियो । यसै गरी जसपाका अग्रवाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

बुधबार सरकारमा तीन मन्त्री थपिए पनि मन्त्रिपरिषद्ले पूर्णता भने पाएको छैन । प्रदेशमा एक मन्त्रालय अझै रिक्त छ । १२ मन्त्रालय रहेको यो प्रदेशमा युवा तथा खेलकुद मन्त्रालय रिक्त छ ।

प्रकाशित मिति: ८ कार्तिक २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्