बाढीको क्षति पुनःनिर्माण गर्न ४० करोड बजेट छुट्याउने कोशी मन्त्रिपरिषदको निर्णय


 


विराटनगर, ७ कात्तिक । कोशी प्रदेश सरकारले बाढी पहिरोबाट पूर्वाधारमा भएको क्षति पुननिर्माण गर्न चालु वर्ष मन्त्रालयमा विनियोजन भएको बजेटबाट ४० करोड छुट्याउने भएको छ।

बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले पुनःनिर्माण र सर्मतसम्भार गर्नका लागि मर्मत तथा पुनःनिर्माण कोषमा ४० करोड रुपियाँ जम्मा गर्ने निर्णय गरेको हो ।

कोशी प्रदेश सरकारले निर्माण गरेको कोषमा ४० करोड रुपियाँ जम्मा गरी काम गर्न सुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीले जानकारी दिनुभयो।

मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै मन्त्री अधिकारीले कटौती गर्न नमिल्ने रकम बाहेक प्रदेश सरकार र वित्तीय समानीकरण अनुदान श्रोतमा चालु खर्च शीर्षकमा विनियोजन भएको रकमबाट १० प्रतिशत पुग्ने गरी सबै मन्त्रालयले बजेट समर्पण गर्ने निर्णय भएको जानकारी दिनुभयो।

कोशी प्रदेश सरकारले यो कोषमा मन्त्रीको १० दिनको तलब जम्मा गर्ने त्यस्तै सांसदलाई सम्बन्धित दलमार्फत सहयोग गर्न आग्रह गर्ने र कर्मचारी तथा अन्य सरोकारवालालाई पनि कोषमा सहयोग गर्न आह्वान गर्ने निर्णय भएको मन्त्री अधिकारीले जानकारी दिनुभएको छ।

बाढी पहिरोको कारण कोशी प्रदेशमा सडक, पुल, सिँचाइ, भवन, विद्यालय गरेर चार अर्ब रुपैयाँ बढीको क्षति भएको छ। क्षति भएका संरचनालाई दीर्घकालीन र तत्काल गर्ने काम छुट्याएर पुनःनिर्माण र मर्मतसम्भारको काम द्रूतगतिमा अगाडि बढाउने सरकारको तयारी छ। त्यस्तै प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रमलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ।

बैठकले प्रदेश सिँचाइ नियमावली र सार्वजनिक खर्चको मापदण्ड र मितव्ययिता सम्बन्धी दोश्रो संशोधन निर्देशिका स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित मिति: ७ कार्तिक २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्