बन्द उद्योग सञ्चालनमा ल्याउँछौं : मन्त्री भण्डारी


 


महेन्द्रनगर, ७ कात्तिक । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पुराना बन्द उद्योगहरु छिट्टै सञ्चालनमा ल्याइने बताउनुभएको छ ।

बुधबार कञ्चनपुर उद्योग बाणिज्य संघको ३३ औं वार्षिक साधारण सभा कञ्चनपुरको महेन्द्रनगर पुग्नुभएका उहाँले भन्नुभयो, ‘पहिले सञ्चालनमा रहेका र हाल लामो समयदेखि बन्द रहेका उद्योग सञ्चालनको तयारी सरकारले गरेको छ, हामी दुई तीनवटा मोडालिटीमा छलफल गरिरहेका छौं, पब्लिक शेयरमा जाने, वैदेशिक लगानी जुटाउने कसरी हुन्छ सल्लाहमै छौं ।’

बिराटनगर जुट मिल, गोरखकाली टायर उद्योग, हेटौडा कपडा उद्योग र उदयपुर सिमेन्ट कारखानालगायत पहिले सञ्चालनमा रहेका उद्योग सरकारले सञ्चालनमा ल्याउन तयारी गरेर काम अघि बढाएको उहाँले बताउनुभयो ।
भण्डारीले भन्नुभयो ‘समय लाग्ला तर प्रक्रिया अघि बढेको छ, सञ्चालन गर्छौ, पुराना उद्योग सञ्चालन गर्ने र नयाँ सम्भावना भएका उद्योग स्थापना गर्ने र उद्योग सञ्चालन गर्नेलाई प्रोत्साहन गर्ने निति समेत मन्त्रालयले लिएको छ ।’

यस्तै, दोधारा चाँदनीमा बनाउने तयारी गरिएको सुक्खा बन्दरगाहका छिट्टै शिलान्यास गरेर निर्माणको काम तिब्र गतिमा अघि बढ्ने बताउनुभयो । दोधारा चाँदनी नगरपालिका –१ स्थित प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणस्थलको निरीक्षण गर्दै मन्त्रिपरिषद्को बैठकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मायापुरी सामुदायिक वनको जग्गा सुक्खा बन्दरगाहका लागि प्रयोग गर्न दिने निर्णय गरिसकेकाले अबको केही महिनाभित्र निर्माणको काम सुरु गरिने बताउनुभयो ।

यसैगरी साधारण सभालाई सम्बोधनकै क्रममा मन्त्री भण्डारीले सुदूरपश्चिम प्रदेशले देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने सम्भाव्यता भएको हुँदा यसलाई सदुपयोग गर्नेगरी सरकार अघि बढिरहेको बताउनुभयो ।

‘सरकारले सुदूरपश्चिमबाट ठुलो सम्भाव्यता देखेको छ, बझाङसँग जोडिएको ताक्लाकोट नाका र दार्चुलासँग जोडिएको तिङ्कर नाका खोल्ने तयारी गरेका छौं, नाका खुलेपछि सुदूरपश्चिम मात्र नभई सिङ्गो देशले आर्थिक फड्को मार्नेछ’ भण्डारीले भन्नुभयो, ‘सो नाका सञ्चालनमा आए मुलुकको सबैभन्दा छोटो नाका बन्नेछ ।’

‘शिलान्यास भइसकेको दैजिछेला औद्योगिक क्षेत्रको काम पनि अगाडी बढाएका छौ, रुख कटानको अनुमति प्राप्त भइसकेको छ, छपानको काम सकिएको छ अब कटानको कामसँगै अन्य कामहरु छिट्टै शुरु हुन्छ ।’

प्रकाशित मिति: ७ कार्तिक २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्