एआइजीपछि डिआइजी र एसएसपीमा बढुवाको तयारी


 


काठमाडौं । नेपाल प्रहरीमा रिक्त एआइजी पदमा बढुवामा सिफारिससँगै तल्लो तहमा पनि बढुवाको सरगर्मी बढेको छ ।

बढुवाका आकांक्षीहंरु शक्तिकेन्द्र धाउन थालिसकेका छन् । खासगरी डिआईजी र एसएसपी बढुवामा ठूलो रस्साकस्सी छ ।

हाल प्रशासनतर्फ डिआइजीका चार र एसएसपीका १२ पद रिक्त छन् । एआइजीमा बढुवा सिफारिस भएकी किरण राणाले १६ कात्तिकमा अवकाश पाएपछि डिआइजीका ५ पद रिक्त हुनेछन् ।

११ कात्तिकमा डिआइजी राजेश बास्तोलाले अवकाश पाउने भएकाले त्यसबेला डिआइजीको थप एक पद रिक्त हुनेछ भने एआइजी रामदत्त जोशीले १८ कात्तिकमा अवकाश पाउनेछन् ।

जसअनुसार तिहारपछि डिआइजीका सात पद रिक्त हुने छन् । जसकारण डिआइजीको बढुवा भने तिहारपछि मात्र हुने गृह मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

तिहारपछि सुरुमा दुई एआइजीको बढुवा गर्नुपर्ने हुन्छ । जसमा दुर्गा सिंह र बुद्धीराज गुरुङ प्रमुख दाबेदार छन् ।

एआइजीपछि डिआइजी र एसएसपीको बढुवा गर्नुपर्ने भएकाले मंसिरमा मात्र प्रक्रिया हुने सम्भावना छ । सात पद रिक्त भएपनि डिआइजी बढुवामा दुई दर्जन एसएसपीबीच प्रतिस्पर्धा छ ।

धुव्रराज राउत, दिनेश आचार्य ,भोला रावल, गणेश चन्द, शिद्धिबिक्रम शाह, सुशिलसिंह राठौर, उमा प्रसाद चतुर्वेदी, हिमालय कुमार श्रेष्ठ, डम्बरबहादुर विक, ओमबहादुर राना, ईश्वर कार्की र बरियतामा अगाडि छन् ।

त्यस्तै, अरुण पौडेल, गोविन्द थपलिया, माधव प्रसाद श्रेष्ठ, दिपेन्द्र जिसी, दिपक रेग्मी, दिलिपसिंह देउजा, विनोद घिमिरे , सुदर्शन कोइराला, दिपक कुमार बस्नेत, जयराज सापकोटा, सुरेन्द्र गुरुङ, संजीव शर्मा दास र शारदा प्रसाद चौधरी समेत छन् ।

कार्यसम्पादनमा कमजोर रहेका धेरै जनाको कांग्रेस नेताहरुसँग निकटतम सम्बन्ध रहेकाले पनि बढुवामा तिव्र टक्कर चलखेल हुने सम्भावना देखिएको छ ।

राष्ट्रिय अनसन्धान विभागबाट आएको टोलीको लबिङका कारण प्रहरीकै क्याडर एसएसपीमाथि अन्याय हुनसक्ने भएकाले डिआइजी बढुवामा प्रहरी महानिरीक्षकको भूमिका पनि महत्वपूर्ण हुने देखिएको छ ।

प्रकाशित मिति: ६ कार्तिक २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्