ललितपुरमा १५ देशका वैज्ञानिकको तीन दिवसीय सम्मेलन हुने
काठमाडौँ,कात्तिक ६ । ललितपुरमा १५ देशका वैज्ञानिकको तीन दिवसीय सम्मेलन हुने भएको छ ।
नेपाल मटेरियल्स साइन्स सोसाइटीले ललितपुरमा पत्रकार सम्मेलन गर्दै कार्तिक ९ गतेदेखि ११ गतेसम्म ललितपुरस्थित होटेल हिमालयमा उक्त सम्मेलन हुने गर्न लागिएको जानकारी दिएको हो ।
सम्मेलनमा वैज्ञानिक, प्राध्यापक, अनुसन्धानकर्ता र विद्यार्थीले विज्ञान प्रविधि तथा आविष्कारको क्षेत्रमा भए गरेका गतिविधिबारे छलफल गर्ने सम्मेलनका सहसंयोजक डा देवलप्रसाद भट्टराईले जानकारी दिए ।
सम्मेलनमा विश्वका अन्य मुलकले शिक्षा, स्वास्थ्य, उद्योगलगायत क्षेत्रमा अपनाइरहेका वैज्ञानिक पद्धतिका बारेमा छलफल हुने उनले जानकारी दिए। उनले स्वास्थ्यका क्षेत्रमा क्यान्सर र मधुमेहको उपचारका विषयमा अध्ययन अनुसन्धानबाट पत्ता लागेका कुरा आदानप्रदान हुने बताए ।
एक सय ३६ जनाको उपस्थिति रहने सम्मेलनमा ४० जना विदेशी सहभागी रहने जनाइएको छ । सम्मेलनमा अध्ययन अनुसन्धानलाई कसरी दैनिक जीवनमा लागू गर्ने भन्ने विषयमामा छलफल हुने बताइएको छ ।
प्रकाशित मिति: ६ कार्तिक २०८१, मंगलबार