धनगढी उपमहानगरद्वारा छिमेकी पाँच पालिकालाई शव चिस्यान सेवा
धनगढी, कार्तिक ६ । कैलालीको धनगढी उपमहानगरपालिकाले छिमेकी पाँच स्थानीय तहलाई नि:शुल्क शव चिस्यान सेवा उपलब्ध गराएको छ ।
उपमहानगरपालिकाले गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिका तथा कञ्चनपुरको पुनर्वास र कृष्णपुर नगरपालिकालाई नि:शुल्करूपमा शव चिस्यान सेवा दिने सम्झौता नै गरेको हो । यसअघि कैलालीकै गोदावरी नगरपालिकामा यो सेवा उपलब्ध गराएको थियो ।
गोदावरी नगरपालिका बाहेकका चार स्थानीय तहहरूसँग सम्झौता गरिएको छ । २०८२ असार मसान्तसम्म छिमेकी चार पालिकामा यस्तो सेवा प्रदान गर्न सम्झौता गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिकाको नगर प्रहरीले शव चिस्यान यन्त्र मृतकको घरमा लगेर जडान गर्नेछ। मृतकको अन्तिम संस्कार गरेपछि यन्त्र फिर्ता ल्याइने छ ।
स्थानीय तहमा समेत सेवा प्रदान गर्न उपमहानगरले शव चिस्यान यन्त्र थप गरेको थियो । उपमहानगरपालिकासँग पाँच वटा शव चिस्यान यन्त्र छन् । अब कैलालीको गोदावरी, गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिका तथा कञ्चनपुरको पुनर्वास र कृष्णपुर नगरपालिकामा बसोबास गर्ने नागरिकले समेत शव चिस्यान सेवा पाउने धनगढी उपमहानगरपालिकाले जनाएको छ ।
विदेशमा छोराछोरी र आफन्त भएको अवस्थामा उनीहरू घर नपुग्दासम्म मृत शरीरलाई सुरक्षित राख्न शव चिस्यान यन्त्रको प्रयोग हुने गरेको छ । उपमहानगरपालिकाले शव चिस्यान सेवा नगर प्रहरीमार्फत दिँदै आएको छ ।
प्रकाशित मिति: ६ कार्तिक २०८१, मंगलबार