सत्ताइस वर्षदेखि खानेपानी योजना अधुरै


 



राजविराज ५ कात्तिक । हनुमाननगर कङ्कालिनी नगरपालिका–७ स्थित हनुमानगर बजारमा २७ वर्षअघि निर्माण सुरु गएको खानेपानी आयोजना निर्माण अधुरै छ ।

स्थानीयलाई शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्यसहित तत्कालीन हनुमाननगर गाउँ विकास समितिको पहलमा स्थानीय स्वास्थ्य चौकी परिसरमा विसं २०५४ मा योजना निर्माण सुरु गरिएको थियो । योजनाको करिब ७५ प्रतिशत काम सम्पन्न भएको छ । 

स्थानीय अमन यादवले २७ वर्ष भइसक्दा पनि एउटा आयोजना निर्माण गर्न नसक्नु लाजमर्दो विषय भएको बताउनुभयो । उहाँले स्थानीय सरकार र निर्माण कम्पनीले तत्काल योजनाका बाँकी काम सम्पन्न गर्न आग्रह गर्नुभयो । “देशमा थुप्रै परिवर्तन भए तर एउटा योजना निर्माण सुरु भएको २७ वर्षसम्म पनि बन्दैन भने योभन्दा लाजमर्दो कुरा के होला रु यदि आयोजना निर्माण भएमा यस क्षेत्रका दश हजारभन्दा बढी जनता लभान्वित हुने थिए । यसर्थ स्थानीय तह र सरोकारवाला मिलेर तत्काल काम अगाडि बढाउन पहल गर्नुपर्छ”, यादवले भन्नुभयो । 

स्थानीय बेचन खड्गाले नगरपालिकाले यसप्रति चासो नदिएकाले सङ्घीयता कार्यान्वयनपछि पनि काम अगाडि नबढ्नु दुःखद भएको बताउनुभयो । नेपाली कांगे्रसका मधेस प्रदेश सचिवसमेत रहनुभएका खड्गाले भन्नुभयो, “नगरपालिकालाई यहाँ शुद्ध खानेपानीका लागि योजनाको काम अगाडि बढाउन आग्रह गर्दा पनि हालसम्म काम सुरु भएको छैन ।  यसअघि नेतृत्वमा भएका जनप्रतिनिधि र निर्माण कम्पनीले पनि चासो देखाएनन् । त्यसै कारण नगरवासी २६÷२७ वर्षदेखि शुद्ध खानेपानीबाट वञ्चित छौँ”, उहाँले भन्नुभयो । 

स्थानीय राजेन्द्र मिश्रले योजनाको ७५ प्रतिशत काम भएको भनिए पनि राजनीतिक खिचातानीकै कारण थप काम अगाडि बढ्न नसकेको बताउनुभयो । “पानी ट्याङ्की निर्माण भइसकेको छ तर पाइपलाइन बिछ्याउने काम हुनसकेको छैन । जसकारण नगरवासी आर्सेनिकयुक्त ट्युबेल तथा चापाकलको पानी खान बाध्य छौँ”, उहाँले भन्नुभयो । 

करिब रु तीन करोडको लागतमा निर्माण थालिएको योजना पहिलो किस्तामा केही काम भएर १०÷१५ वर्षदेखि राजनीतिक खिचातानीका कारण उपभोक्ता समिति नै गठन हुन सकेन । तत्कालीन खानेपानी निर्माण उपभोक्ता समितिका अध्यक्ष रहनुभएका मोहम्मद सकिल अली हालै मधेस प्रदेशसभा सदस्य हुनुहुन्छ । स्थानीय उहाँलाई पनि अधुरो काम अगाडि बढाउन पहिलकदमीका लागि आग्रह गरिरहेका छन् । 

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय राजविराजले धेरै दबाबका बीच रु २८ लाखमा काम गर्ने गरी बोलपत्र आह्वान गरी केही काम भए पनि पुनः अवरुद्ध भयो । दोस्रोपटक विसं २०७४ मा बोलपत्र अह्वान गरिएकामा शान्ति निर्माण सेवा फर्सेठले ठेक्का पाएर केही काम गरे पनि रु १३ लाख भुक्तानी नपाएको भन्दै उसले पनि काम अगाडि बढाएको छैन । थप कामका लागि म्याद नथपिएका कारण समस्या भएको निर्माण कम्पनीका सञ्चालक नारायण यादवले बताउनुभयो । “रु पाँच लाखको पाइप, सिमेन्ट तथा एक हजार थान बाँसलगायत समान त्यही अलपत्र अवस्थामा राखिएको छ । हामीले समयमा भुक्तानी पाएनौँ, म्याद पनि थपिन । त्यसैकारण नपाएपछि आफूहरू काम गर्न असमर्थ भएको हो”, उहाँले भन्नुभयो ।  

प्रकाशित मिति: ५ कार्तिक २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्