भ्रष्टाचार छानबिन गर्न बलियो संस्था आवश्यकः पूर्वप्रधानमन्त्री भट्टराई


 



कास्की, ५ कात्तिक । नेपाल समाजवादी पार्टी (नेसपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भ्रष्टाचारको छानबिनका लागि बलियो संस्था आवश्यक रहेको बताउनुभएको छ ।

नेसपाको आजदेखि पोखरामा सुरु भएको प्रथम विधान अधिवेशनको उद्घाटन गर्दै उहाँले भ्रष्टाचारको निष्पक्ष छानबिन नभएकाले शक्तिशाली र साधनस्रोत सम्पन्न संस्थाको खाँचो रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “फरक पार्टीकालाई भ्रष्टाचारको मुद्दा लगाउने र आफ्नालाई संरक्षण गर्ने गरिएको छ । यसरी देशमा सुशासन कायम हुन सक्दैन । भ्रष्टाचार नियन्त्रण गर्न बलियो संस्था आवश्यक छ ।”

संयोजक भट्टराईले राष्ट्रिय एकता बलियो बनाउनका लागि देशभित्र रोजगारी सिर्जना गरेर युवाहरुलाई देशभित्र नै राख्नुपर्नेमा जोड दिनुभयो ।  “देशका लागि लड्ने युवा नभए राष्ट्रिय स्वतन्त्रता कमजोर हुन्छ, देशलाई एकताबद्ध राख्न देशभित्र रोजगारी सिर्जना गर्ने र युवाहरुलाई  देशभित्रनै राख्नुपर्दछ । हिमाल, पहाड र तराईमा बस्नेहरुबीच एकता कायम गरेर मात्र राष्ट्रिय बलियो बन्दछ ।” भट्टराईले भन्नुभयो । 

नेसपाको वैचारिक राजनीतिक विश्लेषणा सही रहेको बताउँदै केही समय लागे पनि आफूहरुको विचार स्थापित भएरै छाड्ने उहाँले स्पष्ट पार्नुभयो । “पाँच  सिद्धान्तका आधारमा नयाँ नेपाल बनाउने परिकल्पना हाम्रो रहेको छ । केही समय लाग्ला तर वैकिल्पक राजनीतिक शक्ति र विचार स्थापित हुनेछ,” उहाँले भन्नुभयो । 

नेता भट्टराईले बाहिरी शक्तिहरुले नेपालमा अस्थिरता फैलाउने प्रयास गरेको जिकिर गर्नुभयो । उहाँले सङ्घीयता र समावेशी लोकतन्त्रलाई बलियो बनाएर हिमाल, पहाड र तराईकाबीच  बलियो एकता निर्माण गर्नु आवश्यक छ भन्नुभयो ।

अधिवेशनमा पार्टीका सचिवालय सदस्य एवं विधान तथा घोषणापत्र मस्यौदा समितिका संयोजक डा जनक शाहले पार्टीको घोषणपत्र र सचिवालय सदस्य एवं अधिवक्ता कृष्ण शर्माले पार्टीको विधान प्रस्तुत गर्नुभएको थियो । 

प्रस्तुत घोषणापत्र र विधानका बारेमा सहभागीहरुबीच समूह बनाएर समूहगत छलफल भइरहेको पार्टीका गण्डकी प्रदेश अध्यक्ष किरण थापाले जानकारी दिनुभयो । उहाँका अनुसार अधिवेशनले पार्टीको विधान र घोषणापत्र पारित गर्नेछ । 

अधिवेशनले पार्टीको सङ्गठनात्मक संरचना, नेतृत्व प्रणाली र  सिद्धान्त लगायतका विषयहरु टुङ्गो लगाउने छ । अधिवेशनले पार्टीको महाधिवेशन, मिति र स्थानको घोषणा गर्ने बताइन्छ । 

विसं २०७२ असोजमा नयाँ संविधान बनेपछि संयोजक भट्टराईले तत्कालीन एकीकृत नेकपा माओवादी परित्याग गरी नयाँ शक्ति नामक अभियान सञ्चालन गर्नुभएको थियो । 

त्यसपछि नयाँ शक्ति नेपाल पार्टी घोषणा गर्नुभएका भट्टराईको पार्टीको नाम परिवर्तन हुँदै हाल नेपाल समाजवादी पार्टी बनेको हो । 

प्रकाशित मिति: ५ कार्तिक २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्