घर भाडामा लिएर बालिकालाई बेश्याबृत्तिमा लगाउने एक महिला पक्राउ


 


काठमाडौं । बालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा एक जना महिलालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा नुवाकोटको तादी गाउँपालिका-३ घर भई काठमाडौंको मुलपानी बस्दै आएकी ४३ वर्षीय सीता गोतामे छिन् ।

उनलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले २ कात्तिकमा मुलपानीबाट पक्राउ गरेको हो ।

उनले बन्धक बनाएर चार बालिकालाई यौन व्यवसायमा लगाएको पाइएको ब्यूरोका प्रमुख एसएसपी ओम रानाले बताए।

प्रहरीले उनको घरबाट चार बालिकको उद्धार समेत गरेको छ ।

उनले मुलपानीमा एक घर भाडामा लिएर घरमा भाडा माझ्ने, सरसफाइको काममा लगाउने र मासिक २० हजार रुपैयाँ दिने भन्दै बालिकालाई प्रलोभन देखाएर यौन व्यसायमा लगाएको पाइएको प्रहरीले जनाएको छ ।

बालिकालाई यौन व्यवसायमा लगाएर उनले प्रति ग्राहक १ हजारदेखि ३ हजार रुपैयाँसम्म लिने गरेको दाबी प्रहरीको छ ।

पक्राउ परेकी महिलाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

प्रकाशित मिति: ५ कार्तिक २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्