दसैँपछि युवाहरुसँगै बाहिरिँदै गाउँको रौनक


 


म्याग्दी, कार्तिक ५ । शरद ऋतुको रमाइला दिन । उघ्रिएको आकाश । उत्तरतिर टलक्कै टल्किएका हिमाल । खेतैभरी लहलह धान खेत । झलक्क हेर्दा लाग्छ गाउँमा सबै रमाएका छन् । खुसीयाली छाएको छ ।

तर, वास्तविकता त्यस्तो कहाँ छ र । गाउँको रौनक यहाँका युवाहरूसँगै बाहिरिएको छ । वयोवृद्ध मात्र गाउँमा छन् । दसैँ मनाउन गाउँ आएका पनि आआफ्नो कार्यक्षेत्र फर्किसकेका छन् । उनीहरूसँगै गाउँको रौनक फेरि हराएको छ । दसैँमा आएकाहरू शहर फर्किएपछि दिनभरी चिरबिर गर्ने चराहरू साँझ आफ्नै गुँडमा फर्किएझैँ गाउँ सुनसान भएको छ ।

उमेरले ८६ वर्ष पार गरेका म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका मनबहादुर घिमिरे दसैँका पाँच दिन छोरा बुहारी र नाति नातिनीसँगै रमाए । पोखरामा बसोबास गर्ने छोराबुहारी दसैँपछि फर्केपछि फेरि उनी एक्लै भएका छन् । श्रीमतीको मृत्युपछि एकल जीवन जिउँदै आएका घिमिरेलाई खान लाउन र खर्च गर्न कुनै कमी छैन । एउटै कमी भनेको आफ्ना सन्तानको साथमा नहुनु हो । उसो त छोरा बुहारीले आफूसँगै पोखरामा बस्न कर गर्दछन् तर उनी आफ्नो थातथलो छोडेर पोखरा जान सक्दैनन् ।

मनबहादुरकै जस्तो अवस्था छ सोही गाउँका ८७ वर्षीय खड्गबहादुर घिमिरे, ८९ वर्षीय बेदप्रसाद उपाध्याय, १०१ वर्षीय खड्गबहादुर थापा र ७९ वर्षीय टेकबहादुर कार्कीको पनि । उनीहरूका सन्तान कोही वैदेशिक रोजगारीमा छन् भने कसैले जवान छोरो गुमाउनुपर्दाको पीडा बोकेर बाँचिरहेका छन् ।

अध्ययन, रोजगार तथा विभिन्न कामले सहरी क्षेत्र बस्दै आएकाहरू दसैँ मनाउन गाउँ आएका थिए । चाडपर्व सकिएलगत्तै धमाधम फिर्न थालेपछि गाउँ सुनसान बन्न थालेको मंगला गाउँपालिका–२ रणबांगका हरिकृष्ण पौडेलले बताए । ’केही दिन गाउँघरमा निकै रमाइलो भयो । देश विदेशका आफन्तहरूसँगको भेटघाटले दिन बितेको पत्तै भएन’, उनले भने, ’दसैँ सकिएसँगै गाउँ आएकाहरू फर्किन थाले । हेर्दाहेर्दै त्यति रमाइलो गाउँ फेरि विरक्तलाग्दो भयो ।’

म्याग्दीका छ वटै स्थानीय तहका ग्रामीण क्षेत्रमा धान, कोदो भित्र्याउने समय भएको छ । गाउँमा मानिसहरू खासै छैनन् । कृषिमा जनशक्तिको अभाव भएपछि जमिन बाँझै राख्न किसान बाध्य छन् । बेनी नगरपालिका–२ का नारायण सापकोटा भन्छन्, ’दसैँको समयमा गाउँमा जत्तिको रमाइलो कहीँ भएन । दसैँ सकिएसँगै गाउँ खाली भयो । अहिले गाउँमा युवा पुस्ता देख्नै मुस्किल छ । बूढाबूढी र बालबालिकाबाहेक अरू देखिँदैनन् ।’

गाउँका अधिकांश पोखरा, काठमाडौं, बुटवल, चितवन, बेनीलगायत ठूला सहरमा बसाइँ गएको धौलागिरि गाउँपालिका–७ ताकमका हेम सुवेदीले बताउनुभयो । गाउँमै गुणस्तरी शिक्षा, स्वास्थ्य र सञ्चारको राम्रो सुविधा भए बसाईँ जाने क्रम घट्ने मालिका–२ की मीना पुनको अनुमान छ ।

एक दशक अघिसम्म मालिका–५ देवीस्थान गाउँमा खेतीपाती गरेरै जीवन निर्वाह गर्ने धेरै थिए । अचेल हुने खानेहरू सबै बजार झर्न थालेको देवीस्थानका टेकबहादुर बूढामगरले बताए । धेरैको रोजाइ सहर हुँदा गाउँका खेतीयोग्य जमिन वनमाराले भरिएको उनको भनाइ छ ।

२०७८ को जनगणनाअनुसार जिल्लामा जम्मा परिवार संख्या २८ हजार आठ सय ३० रहेकामा कुल जनसंख्या एक लाख सात हजार ३३ रहेको छ । २०६८ को जनगणनाअनुसार जिल्लाको कुल परिवार संख्या २७ हजार सात सय ६२ रहेकामा त्यतिबेला कुल जनसंख्या एक लाख १३ हजार छ सय ४१ थियो । पछिल्लो जनगणनामा परिवार सङ्ख्या बढे पनि जनसङ्ख्या घटेको छ ।

पछिल्लो जनगणनाको नतिजाअनुसार जिल्लामा पुरुषको सङ्ख्या ५२ हजार एक सय ५३ रहेको छ भने महिलाको ५४ हजार आठ सय ८० रहेको छ । यसैगरी परिवारको औसत आकार तीन दशमलव ७१ प्रतिशते छ भने लैङ्गिक अनुपात प्रति सयजना महिलामा पुरुषको सङ्ख्या ९५ दशमलव ०३ प्रतिशत छ । जनघनत्व प्रतिवर्ग किलोमिटर ४७ जनाको बसोबास छ । वार्षिक जनसङ्ख्या वृद्धिदर ऋणात्मक रहेकोमा ‘माइनस’ शुन्य दशमलव ५७ प्रतिशत रहेको तथ्याङ्क कार्यालय बागलुङले जनाएको छ ।

जनगणनामा अनुपस्थित (विदेशमा बस्ने) जनसङ्ख्यातर्फ कुल परिवार संख्यामध्ये आठ हजार तीन सय २० रहेकामा जनसङ्ख्या भने १० हजार सात सय ६६ रहेको तथ्याङ्कले देखाएको छ । जसमध्ये पुरुष आठ हजार नौ सय ६१ र महिला १८ सय पाँच रहेका छन् ।

प्रकाशित मिति: ५ कार्तिक २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्