राज्यलाई शक्तिशाली बनाउन भाषा र संस्कृतिको संरक्षण जरुरी छः सञ्चार मन्त्री गुरुङ


 



काठमाडौँ, ४ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राज्यलाई शक्तिशाली बनाउन भाषा र संस्कृतिले अहम भूमिका खेल्ने भएकाले यसको संरक्षण गर्न जरुरी रहेको बताउनुभएको छ ।

राससले आजदेखि औपचारिकरुपमा सुरु गरेको मैथिली र नेपाल भाषा समाचारको शुभारम्भ गर्दै मन्त्री गुरुङले सरकारले भाषा संरक्षण अभियान सरकारी मातहतका सञ्चार माध्यमबाट थालनी गरेको बताउनुभयो । सबै क्षेत्रका जनतालाई साझा र समान अधिकार बाँडफाँड गर्दै राष्ट्रियतालाई प्रवर्धन गर्न सकिने उल्लेख गर्दै उहाँले भन्नुभयो, “कागजमा मात्रै नभई जनताको अनुहार, भाषा र संस्कृतिमा राष्ट्रियता तथा समावेशी प्रजातन्त्र झल्कनुपर्छ ।”

राज्यका स्रोत र साधनमा समान पहुँच भएन भने मुलुक अप्ठ्यारोमा पर्न सक्ने भन्दै मन्त्री गुरुङले प्रत्येक जातिय समुदायले आफ्ना भाषा र संस्कृति जोगाउने अवसरलाई ठूलो उपलब्धिका रुपमा लिन सकिने बताउनुभयो ।  

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससले प्रारम्भ गरेको मातृभाषाको समाचार सेवालाई दीगो बनाउन सबैसँग सहयोगका लागि आह्वान गर्नुभयो ।

राससका महाप्रबन्धक सिद्धराज राईले नागरिकको सूचनाको हक स्थापित गर्ने सिलसिलामा राससले सरकार र जनताबीच पुलको काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्ला दिनमा राससले २४ सै घण्टा समाचार सेवासँगै संविधानको मर्म र भावनाअनुरुप विभिन्न मातृभाषामा समाचार सेवालाई स्थान प्रदान गर्दै अघि बढिरहेको छ ।”

भाषा आयोगका सदस्य सुरेशकिरण मानन्धरले रासस जस्तो सञ्चारमाध्यममा मातृभाषामा समाचार सम्प्रेषण गर्ने कार्य क्रान्तिकारी कदम भएको बताउनुभयो ।

प्रा डा योगेन्द्रप्रसाद यादवले भाषाको विकास र सम्वर्धन गर्न त्यसको प्रयोग आवश्यक रहेको बताउनुभयो ।

प्रकाशित मिति: ४ कार्तिक २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्