रेमो डिसूजा, पत्नी र अन्य ५ जनामाथि धोखाधडीको आरोप


 


नयाँ दिल्ली । बलिउडका चर्चित कोरियाग्राफर एवम् निर्देशक रेमो डिसूजा, उनकी पत्नी लिजेल डिसूजा र अन्य पाँच जनामाथि एउटा नृत्य समूहले धोकाधडीको उजुरी दर्ता गरेका छन् । मुम्बईको ठाणे प्रहरीले बताएअनुसार शनिबार सो उजुरी दर्ता भएको हो । रेमो र उनकी पत्नीसमेत सबै जनामाथि ११ करोड ९६ लाख भारु ठगेको आरोप छ ।

एक जना २६ वर्षीय डान्सरले उनीहरूमाथि यस्तो आरोप लगाएको एक अधिकारीले बताएका छन् । पीडित डान्सरले अक्टोबर १६ मा मुम्बईको मीरा रोड प्रहरी थानामा आफ्नो उजुरी दर्ता गराएका थिए । प्रहरीले आरोपी सबैमाथि जालसाजी, धोकाधडी र अन्य धारा अनुसार मामिला दर्ता गरेको छ ।

उजुरीका अनुसार डान्सर र उसको ग्रुपसँग सन् २०१८ देखि सन् २०२४ को बीचमा धोकाधडी भएको हो । यस ग्रुपले टिभीको एउटा शोमा प्रदर्शन गरेर जीत पनि हासिल गरेको थियो । रेमो र उनको समूहले पीडितहरूको समूह आफ्नो हो भन्ने देखाएर शोमा जितेको ११ करोड ९६ लाख भारुको इनाम राशि हत्याएको आरोप लगाइएको छ । यो मामिलाको जाँच भइरहेको प्रहरीले बताएको छ ।

रेमो डिसूजाले कोरियोग्राफी र निर्देशन बाहेक पनि डान्स इन्डिया डान्स, झलक दिखलाजा, डान्स प्लस, इन्डियाज बेस्ट डान्स लगायत कयौं रियालिटी शोका जजका रुपमा पनि काम गरिसकेका छन् । निर्देशकका रुपमा उनले सलमान खानको रेस ३, टाइगर श्राफको फ्लाइङ्ग जट र एबीसीडी फ्रेन्चाइजी बनाएका छन् । छिटै अभिषेक बच्चनको शीर्ष भूमिका रहेको उनको फिल्म ह्याप्पी एमाजन प्राइम भिडियोमा रिलिज हुँदै छ ।

प्रकाशित मिति: ४ कार्तिक २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्